विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा चिकित्सकीय भाषामा प्रिटम भनिने रोगको सफल उपचार गरिएको छ ।

समयअगावै जन्मिएका र कम तौल भएका नवजात शिशुमा लाग्ने रोगलाई प्रिटम भनिन्छ । हस्पिटलमा आएको २६ हप्ताको ७ सय ग्राम तौल भएको नवजात शिशुको सफल उपचार भएको जनाएको छ । कम तौल भएको नवजात शिशुको सफल उपचार हस्पिटलका नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर दीपराज उपाध्याय अधिकारी, बाल सर्जन डा. हिरामणि पाठक, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. मोना प्रियादर्शनीको टिमले गरेको छ ।

गत वैशाख २१ गते सुनसरी धरान–१६ की २३ वर्षीया पवित्रा खड्का विराट नर्सिङ होम आएकी थिइन् । उनी २६ हप्ताको गर्भवती थिइन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित चेकजाँच गराइरहेकी उनको पाठेघरमा पानी कम थियो । त्योभन्दा जटिल स्थिति सालमा देखिएको समस्याले आमाले खाएको खानेकुरा शिशुले लिन नसक्दा वृद्धि विकास रोकिएको चिकित्सक बताउँछन् । त्यसपछि उनी विराट नर्सिङ होम आएकी हुन् ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रियादर्शनीका अनुसार पवित्राको गर्भवती अवधि महिनावारीका हिसाबले २९ हप्ता भएको थियो । ‘भिडियो एक्स–रे मा भने २६ हप्ता देखिन्थ्यो । बच्चाको तौल ७ सय ग्राम मात्रै रहेकाले समस्या थियो । यस्तो अवस्थालाई मेडिकल भाषामा आइयुजिआर (इन्ट्रा–युरेटाइन ग्रोथ रिटार्डेशन) भनिन्छ’ उनले भनिन्, ‘आमाको स्वास्थ्य ठीकठाक भए पनि पेटमा शिशुको विकास हुन सकेन । यो अवस्थालाई आइडियोप्याथी भनिन्छ । किन यो समस्या हुन्छ भन्न सकिँदैन तर, खासमा आमा र शिशुलाई जोड्ने सालले राम्रो काम नगर्दा खाना आदान–प्रदान हुँदैन । जसको कारण गर्भमा शिशुको वृद्धि विकास रोकिन पुग्छ ।’

विराटमा भएको विशेषज्ञ चिकित्सकको टिमले शिशुको सफल उपचार गरेकाले हाल तौल बढ्दै गएको नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर अधिकारीले बताए । ‘गर्भमा भएको शिशुको फोक्सोले श्वास लिने र फाल्ने अवस्थालाई मजबुत बनाउनका लागि सर्फ्याटिन प्रोटिनको प्रयोग बढाइयो’ उनले भने, ‘विराटमा फोर लेभलको एनआइसियु रहेको छ । सुरक्षित प्रसूतिपछि शिशुलाई भेन्टिलेटरमा राख्न जोखिम थियो । सिपाप (कन्टिन्यु पोजेटिभ एयरवे प्रेसर) विधि प्रयोग गरियो । जसले शिशुलाई आवश्यक पर्ने अक्सिजन सप्लाइ गर्दथ्यो । यो मेथडले शिशुको शरीरका अङ्गमा असर गर्दैन । यदि भेन्टिलेटरमा राख्नु परेको भए शिशुको आँखामा समस्या आउन सक्थ्यो ।’ डाक्टर अधिकारीका अनुसार अहिले नवजात शिशुको स्वास्थ्य धेरै राम्रो भएको बताए । ‘आँखामा पनि कुनै समस्या छैन’ उनले भने, ‘तौल पनि वृद्धि भइरहेको छ । अहिले ८ सय ५० ग्राम तौल पुगेको छ । १ केजी ४ सय ग्राम तौल भएपछि नवजात शिशुलाई डिस्चार्ज गर्नेछौं ।’

हस्पिटलले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर नवजात शिशुको उपचारमा कुनै समस्या आउन नदिने बताए । २३ वैशाखमा प्रसूति भएपछि जन्म भएको नवजात शिशुको आँखा तथा कानमा समेत कुनै असर देखिएको छैन । सबै शारीरिक विकास भइरहेको चिकित्सक अधिकारीले बताए । सामान्यतः ३७ देखि ४० हप्तामा शिशु जन्मनुलाई समय पुगेको मानिन्छ । ३५ देखि ३७ हप्तामा लेस प्रिटम भनिन्छ । यो अवधिमा शिशुको वजन नर्मल भए यसलाई नराम्रो मानिने छैन । तर, एक केजीभन्दा कम वजन भएका शिशु जन्मनुलाई अत्यधिक कम तौल मानिन्छ ।