सुनसरी । कोशी गाउँपालिकाले गाउँ तथा वडाका युवाहरूका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सम्पन्न गरेको छ । 

आयोगद्वारा लिइने नायव सुब्बा र खरिदार पदको परीक्षा दिन चाहने गाउँका उम्मेदवारहरूलाई लक्षित गरी ३० दिने लोकसेवा तयारी कक्षा आयोजना गरिएको थियो ।

कोशी गाउँपालिकाको सहयोगमा सामाजिक जीवन केन्द्र नेपाल सुनसरीले चैत १५ गतेदेखि आयोजना गरेको सो ३० दिने निःशुल्क लोकसेवाको तयारी कक्षा तालिममा विभिन्न वडाका ४० जनाको सहभागिता रहेको जनाएको छ ।

सामाजिक जीवन केन्द्र नेपाल सुनसरीका अध्यक्ष हजरत हुसेनका अनुसार ३० दिने लोकसेवा तयारी कक्षा कार्यक्रम गरिएको हो ।

समापन कार्यक्रममा प्रदेश सांसद् हाजी इसराइल मन्सुरीले वर्तमान समयको माग र आवश्यकताअनुसार कोशी गाउँपालिकाले आयोजना गरेको तयारी कक्षा जस्ता कार्यक्रम अन्य स्थानीय तहहरूमा पनि हुनुपर्ने बताए ।

स्थानीय तहहरूले भौतिक पूर्वाधारको विकासका साथसाथै गाउँघरका बेरोजगार युवाहरूलाई रोजगारको बाटो देखाउन यस्ता कार्यक्रम आवश्यक भएको उनको भनाइ थियो ।

कोशी गाउँपालिकाका ऐयुब अन्सारीले गाउँपालिकाले गाउँका युवायुवतीहरूलाई लक्षित गरी जिल्लामै पहिलो पटक नायव सुब्बा र खरिदार पदको तयारी कक्षा सम्पन्न गर्न पाउँदा खुसी लागेको बताए ।

कोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलाराज दङ्गालले सरकारी सेवामा केही गरौँ भन्ने भावना बोकेका युवाहरूलाई तालिममार्फत् बाटो देखाउने काम गरेको बताए ।