धनकुटा । जिल्ला सदरमुकाम धनकुटा बजारमा अघिल्ला वर्षहरूभन्दा यो वर्ष भव्यरूपमा होली पर्व मनाइएको छ । 

अघिल्ला वर्षहरूमा कोरोनाको कारण होली पर्वमा भनेजस्तो धनकुटेलीहरू रमाउन पाएका थिएनन् । यसवर्ष भने होली पर्वमा वयस्क, युवायुवती र केटाकेटीहरूको बढी भीडभाड देखिएको थियो । होली पर्व यसपटक धनकुटा र हिले बजारमा विशेष कार्यक्रमको आयोजना गरेर स्थानीय युवाहरूको पहलमा हर्षोल्लासका साथ मनाएका छन् ।

यसपटक भने होलीप्रेमीहरूले बजारको चोक–चोकमा भेला भएर एकआपसमा रङ दल्ने, टीका लगाएर रङ्गीविरङ्गी भएर रमाएका थिए । यसै क्रममा होली पर्वको अवसरमा धनकुटा नगरपालिका वडा नं.६ स्थित भीमसेन थानमा सोमबार होली विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न भएको छ ।

बौद्धिक विकास समाज धनकुटाको आयोजनामा सम्पन्न भएको लाइभ म्युजिक कार्यक्रममा धनकुटा नगरपालिका वडा नं.४ स्कुलडाँडामा रहेको आरोह ब्याण्डका र्याप स्टार स्काई एडीले प्रस्तुति दिएका थिए । आयोजित कार्यक्रममा सयौं युवायुवतीहरू रङ खेल्न र एक–अर्कामा शुभकामना साटासाट गर्न सहभागी भएका थिए । कार्यक्रममा स्थानीय कलाकारले विभिन्न गीत सङ्गीतमा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

त्यसैगरी स्थानीय मदनचोकमा दशक अघिदेखि सुरु गरिएको होलीनृत्य तथा साङ्गीतिक कार्यक्रममा विशेषगरी युवाजमातको यो वर्ष उल्लेख्य सहभागिता रहेको थियो । त्यसैगरी हिले, उत्तरपानी, सिँधुवा, पाख्रीबासलगायत स्थानीय बजारहरूमा पनि होली पर्व उल्लासका साथ मनाइएको स्थानीयले जानकारी दिएका छन् ।

dkt-holi2