धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा अब देखी बिरामी कुरुवाहरूले 'कुरुवा पास' लिएर मात्र इमर्जेन्सी भित्र प्रवेश गर्न पाउने भएका छन् ।  प्रतिष्ठानको इमर्जेन्सी कक्षमा  बिरामी भेट्न  आफन्तहरूको भिड लागेर उपचार गर्न समेत कठिनाइ हुने गरेको भन्दै प्रतिष्ठान प्रशासनले आजबाट बिरामीका कुरुवाहरूलाई कुरुवा पासको व्यवस्था गरेको हो । 

प्रतिष्ठानका सह–प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार इमर्जेन्सीमा आउने बिरामीलाई हेर्न आउने आफन्तहरू धेरै हुने र एउटा बिरामीको धरै जना आफन्तहरू एकै पटक इमर्जेन्सीमा छिर्नाले सरसफाइ तथा उपचारमा कठिन हुने गरेकोले एक जना बिरामी बराबर एउटा पासको व्यवस्था गरिएको हो । 

उनले भने "बिरामी एकजना हुन्छ तर हेर्न धेरै जना आउनु हुन्छ । वहाँहरू एकै पटक इमर्जेन्सीमा छिर्दा त्यहाँ सरसफाइ गर्न, उपचार गर्न नै कठिन हुने गर्दछ ।" एउटै बिरामीका धेरै  कुरुवा आउँदा डक्टर तथा नर्सहरूमा बिरामीको बारेमा कोसँग कुरा गर्ने भन्ने दुबिधा हुने गरेकाले उपचारमा कठिनाइ हुने गरेको उनले बताए । 

"कुनै समय एउटालाई जानकारी गराएको कुरा अर्को समय त्यो व्यक्ति त्यहाँ हुँदैन डाक्टर र नर्सिङ स्टाफहरूमा कोसँग समन्वयन गर्ने भन्ने अन्योल भएको देखियो । त्यसलाई व्यवस्थापन गर्न पनि कुरुवा पासको व्यवस्था गरिएको हो" सह–प्रवक्ता डा.  पोखरेलले भने । 

उनका अनुसार बिरामी दर्ता गरेसँगै बिरामीको अभिभावकलाई उक्त पास उपलब्ध गराइन्छ । पास प्राप्त गर्न बिरामीका कुरुवाले प्रतिष्ठाको विल काउन्टरमा धरौटी बापत ५ सय रूपैँया  बुझाउनु पर्ने हुन्छ । धरौटी रकम बिरामी इमर्जेन्सीबाट बाहिरिएसँगै फिर्ता हुने डा.  पोखरेलले बताए । 

धनकुटाबाट शनिवार आमाको उपचारका लागि प्रतिष्ठान आएका मनिराज राईले भने  "हिजोको भन्दा भित्रको माहौल फरक छ । तर, एउटा मात्र पास भएकोले विल काट्न, औषधी लिन जाँदा बिरामी एक्लै छाडेर हिँड्नु परेको छ ।"

भित्र बसेका कुरुवा बाहिर निस्कनु पर्ने अवस्था भएमा बाहिर रहेका आफन्तलाई उक्त पास दिएमा भित्र प्रवेश गर्न पाउने हुनाले भित्र बिरामी एक्लै छाड्नु पर्ने अवस्था नहुने इमर्जेन्सीमा कार्यरत सुरक्षाकर्मीले  बताए ।