बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका पार्टीलाई चुनावबाट कुनै पनि हालतमा पराजित गर्नुपर्ने बताएका छन् ।

बुधबार झापाको बिर्तामोडमा नेकपा एमालेको जनबर्गीय संगठन नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा गठबन्धन गरेर देशमा लुट मच्चाउने नेता कार्यकर्तालाई पराजित गर्नुपर्ने बताए । ‘सत्ता गठबन्धनका पार्टीलाई जनता सजग भएर एकमुष्ठ पराजित गर्नुपर्छ, ओलीले भने– ‘हामी सत्तामा हुँदा गरेको बिकास मन नपरेर यिनले गठबन्धन गरेका हुन, उनीहरुलाई पराजित गर्नुपर्छ ।’

ओलीले प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि तयारी थाल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले सत्ता गठबन्धनले देशमा लुट मच्चाइरहेको आरोप लगाए । सत्ता गठबन्धनका पार्टीहरूले लोकतान्त्रिक मूल्य/मान्यताविपरितका काम गरिरहेको ओलीले आरोप लगाए । देशमा अनेकौं समस्या रहिरहेका बेला त्यो भन्दा अझै ठूलो समस्याका रुपमा सत्ता गठबन्धनका पार्टीहरूका क्रियाकलाप रहेको उनको भनाइ थियो । सत्ता गठबन्धन देशलाई पछाडि धकेल्नका लागि बनेको दावी ओलीको थियो ।

स्थानीय तहको निर्वाचनमा पार्टीका केही पुरुष कार्यकर्ताले अन्तरघात गरेको उनले बताए । तर महिला सदस्यले इमान्दारीता देखाएको ओलीको भनाई थियो । पार्टीलाई संकट परेका बेला पार्टीलाई बचाउन महिला कार्यकर्ताको योगदान अग्रपंक्तिमा रहेको धारणा ओलीले राखे । आगामी चुनावमा जित्ने संभावना भएका व्यक्तिहरूले उम्मेदवारीको टिकट पाउने स्पष्ट पारे । ओलीले पार्टीका हरेक नेता तथा कार्यकर्ताका गतिविधि सुक्ष्म तरिकाले अध्ययन गरिराखेको बताए ।

संसदमा छलफलका क्रममा रहेको नागरिकता बिधेयक फिर्ता गर्ने निर्णयमा ‘प्रचण्डले खेलेको’ आरोप ओलीले लगाए । ‘तीनबर्ष अघि त्यो बिधेयक फिर्ता गर्दा के हुन्थ्यो ? प्रश्न गर्दै ओलीले भने– ‘यतिबेला बिधेयक फिर्ता गरेर प्रचण्डले ‘मैले मेरो जिम्मेवारी पुरा गरे’ भन्दै नागरिक सहानुभुति लिन खोजेका छन् ।’ ओलीले भने– वास्तबमा त्यो बिधेयक प्रचण्डका कारण नै फिर्ता हुनबाट रोहिएको हो ।

स्थानीय तहको निर्वाचनपछि चार दिने झापा बसाइका लागि ओली बुधबार झापा आएका हुन् । झापा बसाइका क्रममा ओलीले पार्टीका कार्यकर्ताहरुसँग सघन भेटघाट शुरु गरेका छन् ।