विराटनगर । प्रदेश नं. १ लाई किरात प्रदेश नामकरण गर्नुपर्ने माग राख्दै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरिएको छ ।

प्रदेश नं. १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी गरेको सन्दर्भमा किरात राई यायोक्खाले किरात प्रदेशको माग राख्दै विराटनगरमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गरेको हो ।

सुनसरीको धरानबाट सुरु भएको मोटरसाइकल र्याली इटहरी, दुहबी हुँदै विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै ज्ञापन–पत्र बुझाएका छन् । मुख्यमन्त्री राईलाई ज्ञापन–पत्र बुझाएपछि उनीहरू प्रदेशसभाको कार्यालय पनि पुगेका थिए । प्रदेशको नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नामसमेत टुङ्ग्याउन सकेको छैन ।

घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएको आयोजकले जानकारी दिएका छन् । उनीहरूले पहिचानको आधारमा प्रदेश १ को नाम किरात हुनुपर्नेमा जोड दिँदै नाराबाजी गरेका छन् ।

पहिचान र सभ्याताको आधारमा प्रदेशको नामकरण किरात प्रदेश राखिनुपर्ने उनीहरूको माग रहेको छ । यसअघि पनि किरात राई यायोक्खाले किरात प्रदेश नामकरण गरिनुपर्ने माग राख्दै मोटरसाइकल ¥याली, हस्ताक्षरलगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

नामकरणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचान र सभ्यताका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको उनीहरूको भनाइ छ । विशेषगरी नेपाली काङ्ग्रेस र नेकपा (एमाले) कोसी, सगरमाथा, सप्तकोसीलगायत नामकरण गर्नुपर्ने पक्षमा देखिएका छन् भने नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पक्षधर पार्टीहरूले भने पहिचानकै आधारमा नामकरण हुनुपर्ने तर्क गरिरहेका छन् ।

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले सभ्यता र पहिचानलाई ख्याल गरेर प्रदेशको नामकरण किरात प्रदेश राख्नुपर्ने बताए । उनले पहिचानको पक्षमा स्पष्ट भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै त्यसमा असहमति राख्नुपर्ने कुनै कारण नभएको बताए । समग्र किरातवासीको भावनालाई कुल्चेर अगाडि बढ्न सहज नभएको उनको भनाइ छ ।

सभामुख प्रदीपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेलसँग पनि भेटेर किरात नामकरणका विषयमा छलफल गरेका थिए ।यायोक्खा केन्द्रीय कार्य समितिको आयोजनामा भएको कार्यक्रममा  विभिन्न जिल्ला, नगर, वडा, भाषिक र भातृ सङ्गठनहरूको सहभागिता रहेको थियो । यसैबीच किरात खम्बुवान साझा पार्टीले पनि किरात राज्यको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ ।

rayali

kirat-2

kirat-1