इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको अर्थतन्त्रलाई श्रीलङ्कासँग दाँजिनु सुनियोजित भएको बताएका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका कार्कीले मुलुकको अर्थतन्त्रमा केही चुनौती रहे पनि श्रीलङ्कासँग दाँजेर हेर्न भने नहुने बताए ।
इनरुवा आइपुगेका मन्त्री कार्कीले सम्बोधनका क्रममा सुनियोजित रूपमा फैलाइएको हल्लामा कुनै सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

मन्त्री कार्कीले मुलुकको अर्थतन्त्र सङ्कटपूर्ण र चुनौतीपूर्ण नभएर सबल, गतिशील र लय पक्रेको अर्थतन्त्रका रूपमा अघि बढ्न सक्ने अवस्थामा रहेको बताए । उनले देखापरेका चुनौतीहरूलाई भने सबैले मिलेर सामना गर्नुपर्ने बताए ।

यसैबीच एक फरक प्रसङ्गमा कार्कीले सरकारले नागरिकतासम्बन्धी पुरानो अध्यादेश फिर्ता लिएर नयाँ अध्यादेश अघि बढाएकाले नागरिकतासम्बन्धी वर्षौंदेखिको समस्या समाधान भएर जाने विश्वास व्यक्त गरेका छन् । 

मन्त्री कार्कीले सोमबार बस्ने प्रतिनिधि सभाको बैठकमा सो विषय प्रवेश गरेपश्चात् बाबुआमा नेपाली भएका छोराछोरीले नागरिकता नपाउने समस्याबाट मुक्ति पाउने बताए । 

मन्त्री कार्की नेपाल टेलिकमको सेवा स्तरोन्नति कार्यक्रममा सहभागी हुन इनरुवा आएका थिए । सो क्रममा उनले टेलिकमको पुरानो सेवा कोप्पर नेटवर्क प्रणालीलाई हटाएर फाइबर नेटवर्क सेवा थालनीको शुभारम्भ गरेका छन् ।

सेवा शुभारम्भसँगै इनरुवा टेलिकम फाइबर नेट सुविधा कार्यान्वयनमा ल्याउने प्रदेश नम्बर १ को धनकुटापश्चात्को दोस्रो कार्यालय बनेको छ ।

फाइबर नेट सेवा सुरु भएसँगै टेलिफोन, इन्टरनेट र टेलिभिजन तीनवटै सेवा अब एकसाथ लिन सकिने इनरुवा प्रमुख जियालाल मेहताले जानकारी दिए ।