विराटनगर । नेकपा (एमाले) बाट समानुपातिक सांसद्मा नियुक्त भएकी हीमादेवी बस्नेतले मङ्गलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

नेकपा (एमाले) बाट निर्वाचित समानुपातिक सांसद् गुलेफुन खातुनले गतसाता पदबाट राजीनामा दिएपछि रिक्त प्रदेश १ को प्रदेशसभा सदस्यमा बस्नेतले शपथ लिएकी हुन् । प्रदेशसभा सचिवालयमा आयोजित विशेष कार्यक्रममा सांसद् बस्नेतलाई प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले शपथ गराए ।

निर्वाचन आयोगको बैठकले समानुपातिक सूचीबाट बस्नेत निर्वाचित भएको निर्णय गरेको थियो । निर्वाचन आयोगले प्रदेश प्रमुखलाई पत्र पठाएर बस्नेत प्रदेशसभा सदस्य नियुक्त भएको जानकारी गराएको थियो भने प्रदेशसभा सचिवालयलाई बोधार्थ पठाएको थियो । सोही पत्रलाई आधार मानेर उनलाई शपथ गराइएको थियो ।

तत्कालीन सांसद् खातुनले सरकारी कागजपत्र, सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा अदालतले दोषी प्रमाणित गरेपछि पदबाट राजीनामा दिएकी थिइन् । अदालतले खातुनलाई एक वर्ष कैद तथा १४ हजार ५ सय रुपैयाँ जरिबाना गर्ने फैसला गरेको थियो । प्रदेशसभा सदस्यमा नियुक्त सांसद् बस्नेतले आफू नागरिकको वारेस भएको बताएकी छन् ।

‘अलिकति फरक जिम्मेवारीमा आएको छु ।अझै थप जिम्मेवारी बढेको महसुस भएको छ । म नागरिकको वारेस हुँ’ उनले भनिन्, ‘केही छोटो समयका लागि भए पनि मैले सकेको काम नागरिकको पक्षमा गर्नेछु ।’