सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको अध्यक्ष पदका लागि तीनजना आकाङ्क्षी देखिएका छन् ।
नेकपा (एमाले) सुनसरीको सातौं महाधिवेशनबाट अध्यक्षमा वर्तमान जिल्ला अध्यक्षसमेत रहेका खेमराज पोखरेल, रेवती भण्डारी र द्वारिकलाल चौधरीले दाबी गरेका छन् । सुनसरी सदरमुकाम इनरुवास्थित जेल फिल्डमा सुरु भएको सातौं महाधिवेशनको उद्घाटन नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्दै सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न सुझाव दिए । केन्द्रीय, प्रदेशसँगै जिल्लाका अधिकांश नेताकार्यकर्ताले एमालेको सातौं महाधिवेशनबाट सर्वसम्मत रूपमै नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएकाले सहमतिमै नेतृत्व चयन हुने सम्भावना देखिएको छ । सातौं महाधिवेशनबाट अध्यक्ष पदमा पुनः खेमराज पोखरेललाई ल्याउनुपर्नेको जमात बढी देखिएकाले उनको सम्भावना प्रबल देखिएको स्रोतको भनाइ छ ।
तर, अध्यक्ष पदमा रेवती भण्डारी र द्वारिकलाल चौधरीले अडान कायमै राखेको अवस्थामा पोखरेललाई त्यति सजिलो भने नहुने स्रोत बताउँछ । अध्यक्षमा सहमति भएको अवस्थामा अन्य पदमा खासै विवाद नहुने बताइएको छ । नेकपा (एमाले)को सातौं महाधिवेशनबाट सुनसरी जिल्ला उपाध्यक्ष वराहक्षेत्र नगरपालिका मेयर निलम खनाल, नन्द बस्नेत, लीला बस्नेत, रामप्रसाद मेहता, बालेश्वर चौधरीलगायतले दाबी गरेका छन् । त्यस्तै सचिव पदमा देवानन्द मेहताको दाबी चर्चामा आए पनि अन्यले औपचारिक रूपमा दाबी गरेको देखिएको छैन । यस्तै उपसचिवमा राम कोइराला, लोकेश निरौला, पदम लिम्बू, रवि खनाल, लहरुमाया जिमी, अञ्जु पाण्डेलगायतका नाम चर्चामा छन् ।
यसैबीच भर्चुअल माध्यमबाट जिल्ला महाधिवेशनलाई सम्बोधन गर्दा अध्यक्ष ओलीले सहमतिबाट नयाँ नेतृत्व चयन गर्न जिल्लाका नेताकार्यकर्ताहरूलाई सुझाव दिँदै भने घरपरिवार एकआपसमा गरिने छलफल र समझदारीले जसरी परिवारलाई बलियो बनाइराख्न मद्दत पु¥याउँछ, त्यस्तै पार्टीमा पनि बहस विमर्श र छलफलले पार्टीलाई थप बलियो बनाउने भएकाले पार्टीको विधिविधानभित्र रहेर सकारात्मक बहस गरी नयाँ नेतृत्व चयन हुनुपर्छ । उनले भने, ‘पार्टी नेतृत्वपङ्क्ति पार्टीको नीति, विचार र कार्यक्रमबाट च्यूत हुन थाल्यो, सङ्गठन सञ्चालनमा विधिको बेवास्ता गर्न थाल्यो भने पार्टीमा साङ्गठनिक अराजकता बढ्न सक्छ, त्यसैले सकारात्मक सन्देश प्रवाह गर्न सहमतिबाट नै नेतृत्व चयन हुनुपर्छ । नेकपा (एमाले) मा उन्नतस्तरको एकता रहेको दाबी गर्दै अध्यक्ष ओलीले ७७ वटै जिल्लामा सर्वसम्मत रूपमा पदाधिकारी चयन गर्दै आगामी स्थानीय तहको निर्वाचनमा जुट्न निर्देशनसमेत दिए ।
नेकपा (एमाले) सुनसरीका अध्यक्ष खेमराज पोखरेलको अध्यक्षता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको खुलासत्रमा बोल्ने अधिकांश जिल्लादेखि केन्द्रीयस्तरका नेताहरूले सर्वसम्मतिबाट नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिएका थिए । शुक्रबार खुलासत्रमा नेकपा (एमाले) सुनसरीका इञ्चार्ज तथा केन्द्रीय सदस्य जगदीशप्रसाद कुशियैत, केन्द्रीय सदस्य एवम् सुनसरी इञ्चार्ज भगवती चौधरी, केन्द्रीय सदस्य एवम् सुनसरी सह–इञ्चार्ज तैयब हुसेन, केन्द्रीय सदस्य अमृता सुब्बा, इटहरी उपमहानगरपालिकाकी उपप्रमुख एवम् केन्द्रीय सदस्य लक्ष्मी गौतम, धरान उपमहानगरपालिकाकी उपप्रमुख एवम् केन्द्रीय सदस्य मञ्जु भण्डारी, पूर्व जिल्ला अध्यक्ष रमेश बस्नेतलगायतले आ–आफ्ना धारणा राखेका थिए । प्रदेश १ का पूर्व मुख्यमन्त्री एवम् नेकपा (एमाले) प्रदेश १ का इञ्चार्ज भीम आचार्य भने कार्यक्रममा अनुपस्थित थिए । सहमति नभएको अवस्थामा शनिबार बन्दसत्रमा उम्मेदवारी मनोनयन गरिने निर्वाचन कार्य तालिका रहेको छ ।
पुस २१ गते एमाले इनरुवा नगर कमिटीको निर्णयअनुसार प्रेम पौडेलको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ । समितिको उपाध्यक्षमा सरिता कार्की घिमिरे, सचिवमा मेघराज न्यौपाने र उपसचिवद्वयमा रफिक मियाँ र अशोक साह चयन भएका छन् । कमिटीले बाँकी रहेका सदस्य विधानतः मनोनयन गर्ने जनाएको छ ।