पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष के.पी.पालुङ्वाले मोर्चा बनाएर आउँदो चुनावमा लड्ने बताएका छन् ।

पाँचथरको फिदिममा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष पालुङ्वाले त्यस्तो बताएका हुन् । उनले चुनावी मोर्चाका लागि अहिलेको पाँच दलीय गठबन्धनसँग कुराकानी भइरहेको बताए ।

यदि पाँच दलीय गठबन्धन चुनावसम्म नरहे विचार मिल्ने शक्तिहरूसँग गठबन्धन गरेर स्थानीय तह, सङ्घ र प्रदेशको चुनाव लड्ने उनले बताए । ‘अहिले हाम्रो पार्टीले जनता जागौं राष्ट्रिय अभियान चलाइरहेको छ’ उनले भने, ‘सङ्गठन सुदृढीकरणको कामलाई पनि उसरी नै तीव्रता दिइरहेका छौं, त्यसैले हामी पनि त्यति कमजोर छैनौं ।’

अध्यक्ष पालुङ्वाले केही स्थानीय तहमा जनमुक्ति एक्लैले चुनाव जित्ने र अन्य केही तहहरूमा आफ्नो पार्टीको मत निर्णायक हुने दाबी गरे । त्यसैले पनि अन्य दलहरूले आफूहरूसँग चुनावी मोर्चा बनाउने उनले बताए ।

देश विकास नहुनुको मुख्य कारण भ्रष्टाचार भएको जिकिर गर्दै अध्यक्ष पालुङ्वाले मुलुकमा भ्रष्टाचारलाई निमिट्यान्न पार्न सकिए कुनै नेपाली पनि श्रम गर्न विदेश जानु नपर्नेसमेत बताए ।