इनरुवा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष ओलीलाई केपी बा आइ लभ यू भन्दै व्यङ्ग्य गरेका छन ।
नेपालले ओलीलाई मुर्तीमा रम्ने व्यक्तिको संज्ञा दिदै स्वयं आफुले आफुलाई देवत्वकरण गरेको बताए । सुनसरीको इटहरीमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन प्रदेश १ को प्रथम अधिवेशन उद्घाटनको क्रममा नेपालले ओली लक्षित व्यङ्ग्य गरेका हुन ।
सो क्रममा नेपालले केपी ओलीले आफुलाई देउताको अवतार ठानेको बताए । नेपालले भने " देउताको अवतार ठान्छ । अनि त्यो घमण्डले चुरचुर हुन्छ । आजको व्यवहारको त्यो कुरा पुष्टि गरेको छ । "
कार्यक्रम सम्बोधनको क्रममा नेपालले हास्दै भने “केपी बा आइ लभ यू” उनी मुर्तीमा रम्ने व्यक्ति । अटेरी मान्छे । दम्भी मान्छे । निरंकुश चरित्रको मान्छे । उनी पार्टीमा नेता भैसकेपछि उनले पार्टी पुरै कब्जा गरे । कसैले भनेको सुनेनन । मैले भनेको त सुनेनन । अरुको त के सुन्छन । कौन पुछे खेसडी के दाल । "
यावत कारणले ओली पतनको बाटो उन्मूख भएको बताएका नेपालले उनीसँग आसेपासे भई हिंडेका केहि व्यक्ति समेत छिट्टै आफ्नो पार्टीमा आउने ठोकुवा गरे ।
कार्यक्रममा नेपालले एमालेका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज रहेका धर्मराज निरौलालाई पार्टीमा स्वागत गरेका थिए । भीम आचार्यका विश्वास पात्र मानिएका निरौलाले एमाले छाडेको औपचारिक घोषणा सँगै नेकपा एस रोजेका हुन । उनीसँगै १ सय बढी एमाले नेता कार्यकता सो क्रममा नेकपा एसमा प्रवेश गरेका थिए । कार्यक्रममा प्रदेश १ का मूख्यमंन्त्री राजेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।