सङ्खुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगो लाग्दा जलेर एक जनाको ज्यान गएको छ । आगलागीमा परि २३ वर्षीय पंखामान राईको ज्यान गएको हो ।
चार जना साथीसँग काठ चिर्न जङ्गल गएका पंखामान बसेको कटेरोमा आगलागी हुँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए ।
पंखामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएको सुवेदीले बताए । साथीहरू फर्किएर कटेरोमा पुग्दा पंखामान जलेर ज्यान गइसकेको अवस्था भेटिएको प्रारम्भिक जानकारी आएको सुवेदीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।