विराटनगर । नेकपा माओवादी केन्द्रको प्रदेश–१ अध्यक्षमा हर्कबहादुर नेम्वाङ(मिक्सो) विजयी भएका छन् । नेतृत्व तथा पदाधिकारीका लागि निर्वाचन प्रक्रियाबाट उनी लोकप्रिय मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित अध्यक्ष नेम्वाङ अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हुन् ।
बिहीबार बिहान अन्तिम मत परिणाम अनुसार हर्कले १ सय ६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्सामहाङ म्याङवोले ६४ मत मात्र ल्याए । अन्तिम समयसम्म अध्यक्षका लागि प्रयास गरिरहेका शिवकुमार डाँगीले अन्तिममा उपाध्यक्षमा सहमत भएका थिए ।
उनी ११३ मतसहित विजयी भए । उपाध्यक्षमा १२० मतसहित विजयी भएका देवान चाम्लिङले पनि अध्यक्षमा दाबी गरेका थिए । ३ उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको थियो । मणि कुमार साम्पाङ्गले १११ मत ल्याएर उपाध्यक्षमा जित हासिल गरे । अध्यक्षमा दाबी गरेका मोहन खत्री भने उपाध्यक्षमा पराजित भए । उनले ८६ मत पाए ।
उपाध्यक्षमा भोगेन्द्र प्रसाद यादवले ९७, पुरुषोत्तम चुडेलले ३६ मत ल्याएर पराजित भए । उपाध्यक्षमा दुई महिला पनि प्रतिस्पर्धामा थिए । उर्मिला तामाङ र इन्दिरा मिश्र उनीहरूले क्रमशः ८० र ५१ मत ल्याएर पराजित भए ।
सचिवमा गणेश उप्रेती १४८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्र ल्याए । सहसचिवमा ऋषिराम ढुङ्गाना (९५), कुमारी राई (११४) र सागर किराँती (७३) विजयी भए । खतीन सहसचिवका लागि १४ जनाको उम्मेदवारी परेको थियो ।
कोषाध्यक्षमा रेवत राज पुरीले जित हाल पारे । उनले ९३ मत ल्याए । कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको थियो । माओवादीले प्रदेश सम्मेलन मङ्सिर २५ र २६ गते नै गरेको भए पनि नेतृत्वका आकाङ्क्षी धेरै हुँदा पदाधिकारी चयन गर्न सकेको थिएन । त्यति बेला छानिएका २ सय ४० प्रदेश सदस्यहरूबिच मतदान प्रक्रियाबाट नेतृत्व चयन भएको हो ।