पथरी/भाषा, संस्कृति, संस्कार र सभ्यताको काममा सबै जातिहरू एकजुट भएर लाग्नु पर्ने प्रदेश नम्बर १ प्रमुख पर्शुराम खापुङले बताएका छन् ।
मोरङको कानेपोखरी–७, स्थित उधौली पर्वको अवसरमा किरात धार्मिक वन उपभोक्ता समूहले निर्माण गरिएको ट्रिहाउसको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । उनले भने–“भाषा, संस्कार, संस्कृति र सभ्यताको काममा एकजुट भएर संरक्षणमा पनि लाग्नु पर्नेछ । यसमा हामी सबैले हातेमालो गर्नुपर्छ ।”
उनले विचारमा जतासुकै भए पनि विकासमा एकजुट भएर लाग्नुपर्ने बताउँदै यसरी एकजुट भएर लागे मुलुकमा शान्ति, समृद्धि ल्याउने मात्र होइन मुलुकको भविष्य दीगो कायम राख्ने बताए । विशिष्ट अतिथि प्रदेशसभा सदस्य सूर्यमाराज राईले संस्कार संस्कृतिलाई ब्युताउँदै आएको किरात राईहरूको साकेला कोरोनाको कारण केही वर्ष मनाउन नपाएको बताए ।
कार्यक्रममा डिभिजन वन कार्यालय मोरङका प्रमुख, सवडिभिजन कार्यालय कानेपोखरीका प्रमुख तुलसीलाल यादव, कानेपोखरी–७ का वडाध्यक्ष मोहनप्रसाद अधिकारीले मन्तव्य दिए । कृष्ण राईको सभापतित्वमा र फूलमाया राईले सञ्चालन गरेकी थिइन् ।