विजयपुर । नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेशको अध्यक्षमा १६ जनाले दाबी गरेका छन् । मुख्य ९ पदका लागि ६० भन्दा बढी आकाङ्क्षी देखिएका छन् ।

माओवादी केन्द्रको ३ केन्द्रीय सदस्यहरू प्रदेशको नेतृत्व लिनबाट पछि हटेपछि प्रदेशका समकालीन नेताहरूले अध्यक्षको दाबी गर्न थालेका हुन् । अध्यक्षको दाबी गर्ने केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो र हेमराज भण्डारीले प्रदेश समितिको बुधबार बसेको बैठकमा प्रदेश समितिमा नरहने घोषणा गरेका थिए ।

केन्द्रीय सदस्यहरू पछि हटेपछि प्रदेशका सदस्यहरू १६ जनाले अध्यक्षको दाबी गरेको माओवादी केन्द्र १ नं. प्रदेशको पदाधिकारी चयन तथा प्रस्ताव कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार अध्यक्षमा सुनसरीबाट मुक्साहाङ मेन्याङ्बो र शिव डाँगीले दाबी गरेका छन् भने झापाका मनिकुमार साम्पाङ र पुरुषोत्तम चूडाल रहेका छन् ।

पाँचथरका हर्क नेम्वाङ, ताप्लेजुङका विजयप्रसाद वनेम, भोजपुरका दिलकुमार राई र विमल खड्का छन् । त्यसैगरी खोटाङका ध्रुव बुढाथोकी र देवान चाम्लिङ छन् । सोलुखम्बुका थमनाथ पराजुली, ओखलढुङ्गाका खड्ग योगी र मोहनबहादुर खड्का छन् । मोरङका हेम कार्की, उदयपुरका मोहनबहादुर खत्री र सागर किरातीले पनि अध्यक्षमा दाबी गरेका छन् ।

माओवादी केन्द्रको प्रदेश उपाध्यक्षमा दाबी गर्नेहरू पनि निकै रहेका छन् । अहिलेसम्म प्राप्त जानकारीअनुसार खोटाङका ध्र्रुव बुढाथोकी, झापाका सिपी कडरिया र मोरङका भोगेन्द्र यादवले दाबी गर्दै आएका छन् ।

त्यस्तै महिला  उपाध्यक्षका लागि सङ्खुवासभाकी इन्दिरा मिश्र र मोरङकी विनिता घिमिरेलगायत आकाङ्क्षी रहेका छन् । सचिवमा सुनसरीबाट आइन्द्रविक्रम बेघा, मोरङबाट गणेश उप्रेती, ओखलढुङ्गाबाट मोहनकुमार खड्का र धनकुटाका ऋषिराम ढुङ्गानालगायत अन्यले पनि दाबी गर्दै आएको ती सदस्यले बताए ।

उनले माओवादी केन्द्रको विधान अनुसार प्रदेश सम्मेलनबाट निर्वाचित सदस्यबाट मुख्य पदाधिकारी छनौट गर्नुपर्ने बताए । उनका अनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, सचिव एक, सह–सचिव तीन, कोषाध्यक्ष एकसहित ९ पदका लागि ६० जनाभन्दा बढीको दाबी रहेको छ । उनले भने, ‘दाबी अझै बढ्न सक्छ ।’

मङ्सिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न १ नं. प्रदेशको प्रथम अधिवेशनले २ सय ७१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । सदस्य चयन गरे पनि मुख्य पदाधिकारीमा सहमति हुन सकेको थिएन । प्रदेश पदाधिकारीको सहमति गर्नका लागि पार्टीका १ नं. प्रदेशका सह–इञ्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङ्माङको संयोजकत्वमा ५ सदस्यीय पदाधिकारी चयन तथा प्रस्ताव कार्यदल गठन भएको थियो ।

कार्यदलको सदस्यहरूमा सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् । ती सदस्यले मुख्य पदाधिकारी चयनका लागि पुस ७ गते कार्यसमितिको बैठक बस्ने बताए । उक्त बैठकमा पनि पदाधिकारी चयन हुन नसके निर्वाचनबाट नेतृत्व छनौट हुने बताए । उनले भने, ‘सहमति नभए निर्वाचन हुन्छ ।’

अध्यक्षमा दाबी गर्ने महिला नै छैनन्
माओवादी केन्द्र १ नं. प्रदेश समितिको अध्यक्षमा दाबी गर्ने १६ जनामध्ये एकजना पनि महिला छैनन् ।

सबैभन्दा समानुपातिक समावेशी सिद्धान्तको वकालत गर्ने पार्टीको नेतृत्व लिन त होइन, आकाङ्क्षीसमेत महिला नहुनु दुःखद् कुरा हो । माओवादीमा प्रदेशको नेतृत्व लिन सक्ने महिला नभएका हुन् या आउन अवरोध गरिएको हो ? यो गम्भीर प्रश्न हो ।

१६ जनाले अध्यक्षको दाबी गरिरहँदा एक–दुईजना महिला पनि छैनन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा १ नं. प्रदेशकोे नेतृत्व चयन कार्यदलका एक सदस्यलाई माओवादीमा प्रदेशको नेतृत्व लिन सक्ने महिला नभएका हुन् भन्ने जिज्ञासा राख्दा नेतृत्व गर्ने क्षमता भएका प्रशस्त महिलानेतृ भएको बताए ।

उनले भने, ‘प्रदेशको नेतृत्व लिन सक्ने महिला प्रशस्त छन् । उनीहरू प्रायः केन्द्रीय समितिको प्रतिनिधि भएकाले अध्यक्षको दाबी नगरेका हुन् ।’ उनले केही महिलाहरूले अध्यक्षमा दाबी गर्नका लागि नेतृत्व निर्माणमा ध्यान दिनुपर्ने बताए ।