धरान । नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट उपसभापति पदमा देउवा र कोइराला प्यानलबाट एक–एक जना निर्वाचित बनेका छन् ।
उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् । सोमबार राति सम्पन्न मतगणनाअनुसार खड्काले २१ सय २१ मत र गुरुङले १९ सय ८ मत प्राप्त गर्दै विजयी बने । खड्का देउवा प्यानलबाट प्रतिस्पर्धा गरेका थिए भने गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए । त्यस्तै देउवा पक्षका विजय गच्छदारले १९ सय ६ मत प्राप्त गरेका थिए भने कोइराला प्यानलका चन्द्र भण्डारीले १५ सय ८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन् ।
सुजाता, प्रकाशमान सिंह प्यानलबाट प्रतिस्पर्धा गर्दा आचार्य स्वतन्त्रबाट उपसभापतिका उम्मेदवार बनेका थिए । त्यस्तै शाह, विमलेन्द्र निधि प्यानलबाट प्रतिस्पर्धा गरेका थिए । नेपाली कांग्रेसको विधानअनुसार पहिलोपटक उपसभापति निर्वाचित बनेका हुन् । यसअघि मनोनित गर्ने प्रावधान थियो । महामन्त्री पदको मतगणना भने बिहीबार (आज) बिहानदेखि सुरु हुँदै छ ।