भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन पुस ३ गते झापा आउन लागेका छन् । राप्रपा अध्यक्षमा निर्वाचित भएपछि लिङ्देन पहिलो पटक गृह जिल्ला झापा आउन लागेका हुन् ।
पुस ३ गते बिर्तामोडमा आयोजना गरिएको स्वागत सम्मान एवं वृहत् पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देन सहभागी हुन आउन लागेको राप्रपा झापाका अध्यक्ष केशव ओझाले जानकारी दिए ।
उनी तीन दिन झापा बस्ने कार्यक्रम रहेको बताइएको छ । बसाँईका क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहने मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईँले जानकारी दिए ।
राप्रपाको हालै सम्पन्न महाधिवेशन मार्फत अध्यक्षमा निर्वाचित लिङ्देनले तत्कालीन अध्यक्ष कमल थापालाई पराजित गरेका थिए । लिङ्देन एमाले र माओवादीे गठबन्धनबाट झापा क्षेत्र नम्बर ३ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए ।