धरान । नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् । 

हालसम्म भएको मतगणनामा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ । आज बिहान चार बजेदेखि मतगणना सुरु भएको हो । हालसम्म २२०६ मत गणना हुँदा देउवाले १ हजार ५१ मत ल्याएका हुन् भने कोइरालाले ७९३ मत ल्याएका छन् । त्यस्तै प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन् । 

हालको मतपरिणामको आधारमा हेर्दा सभापतिमा जित्नका लागि २३ सय ४० मत ल्याउनुपर्ने हुन्छ । नेपाली कांग्रेसको विधानअनुसार ५१ प्रतिशत ल्याएको अवस्थामा मात्रै सभापतिमा निर्वाचित हुने व्यवस्था छ । कांग्रेसका ४ हजार ७ सय ४३ जना प्रतिनिधिमध्ये चार हजार ६ सय ७९ जनाले मत खसालेका थिए । ५१ प्रतिशत मत नपुगेको खण्डमा भने दोस्रो चरणमा पुनः मतदान हुनेछ । 

अहिलेको मतपरिणामका आधारमा हेर्दा देउवाले पनि सभापति जित्ने सम्भावना न्यून छ । किनकि चारजनाको मत जोड्दा देउवाको मत कम हुन्छ । त्यसो हुँदा अन्तिम मतपरिणाम आउँदासम्म दुई सभापतिबीचमा फेरि चुनाव हुने निश्चित देखिएको छ । तर दुई सभापतिमध्ये अन्य सभापतिका उम्मेदवारले कसलाई सहयोग गर्छन् उनै सभापतिमा निर्वाचित हुनेछ ।