सुनसरी । नेपाली काङ्गे्रसको १४ औं महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा पूर्वका उम्मेदवारलाई जिताउन प्रदेश नम्बर १ का उम्मेदवारहरूले जोड दिएका छन् ।
नेपाली काङ्ग्रेस सुनसरीले आइतबार बिहान काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले नेपाली काङ्ग्रेस पार्टीलाई सुदृढ बनाउन योग्य, क्षमतावान, सक्षम र पार्टीप्रति कटिबद्ध भएर लागेका उम्मेदवारहरूलाई भोट दिन आग्रह गरेका छन् । स्थानीय समस्या समाधान गर्नको लागि केन्द्रीयस्तरमा आवाज पुर्याउन सकभर प्रदेश १ का उम्मेदवार जिताउन आवश्यक रहेकोे उक्त कार्यक्रमका वक्ताहरूको जोड थियो । कार्यक्रममा बोल्दै उपसभापति पदका उम्मेदवार महेश आचार्यले नेपाली काङ्गे्रस पार्टी विस्तारै जोखिमतर्फ जाँदै गरेको बताउँदै भने गुटबन्दीको धमिराले पार्टीलाई खान थाल्यो भन्ने चिन्ता छ ।
पार्टीमा स्वच्छ प्रतिस्पर्धा गर्ने मौकाभन्दा पनि पैसा र बल प्रयोग बढेकाले नेताकार्यकर्ताको स्वाभिमान कुल्चिँदै गएको छ । पार्टीमा स्वच्छ प्रतिस्पर्धा गर्ने ठाउँमा गुटबन्दीको धमिरा लागेको हुँदा आफूले उम्मेदवारी दिएको नेता आचार्यको भनाइ छ । सोही कार्यक्रममा बोल्दै नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सभापति राजीव ढुङ्गानाले नेपाली काङ्ग्रेस पार्टीलाई नयाँ ढङ्गले हाँक्न आवश्यक रहेकाले त्यसको लागि नीति निर्माण तहमा युवाको प्रतिनिधित्व जरुरी भएकाले आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।
‘पार्टीलाई नयाँ ढङ्गले हाँक्नुपर्ने अहिलेको आवश्यकता हो’ उनले भने, ‘त्यसको लागि हिजोका गल्तीबाट पाठ सिकेर सुदृढ काङ्ग्रेस बनाउन आवश्यक देखिएकाले आ–आफ्नो स्तरबाट सहयोग गरौं ।’ काङ्ग्रेसलाई सुदृढ बनाउने हो भने प्रशिक्षित कार्यकर्ता, अनुशासित सङ्गठन बनाउनेदेखि युवामैत्री काङ्ग्रेस, युवाका मुद्दा सम्बोधन गर्न युवा सहभागिता आवश्यक रहेकाले आफूले उम्मेदवारी दिएको ढुङ्गानाको भनाइ छ । राष्ट्रियता, जनजीविकाका सवालमा खरो रूपमा उत्रने काङ्गेस बनाउन भागबण्डाका आधारमा नभई नीति र विधानअनुसार चल्ने काङ्ग्रेस बनाउन युवाहरूलाई मतदान गर्न उनको आग्रह छ ।
संविधान निर्माण गर्नेदेखि हरेक जातजाति र समुदायको पहिचान स्थापित गराउन आफ्नो अहम् योगदान रहेको बताउँदै नेपाली काङ्ग्रेसका निवर्तमान उपसभापति तथा पुनः उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारले मेचीदेखि महाकालीसम्मका काङ्ग्रेसलाई जोड्न शेरबहादुर देउवा नेतृत्वको प्यानललाई जिताउनुपर्ने दाबी गरे ।
विगतमा सबै वर्ग र समुदायको हकअधिकार स्थापित गराउन काङ्ग्रेस चुकेको हुँदा आफूले २०६४ सालमा पार्टी परित्याग गरेको स्मरण गर्दै उनले भने विजयकुमार गच्छदार भाषण गर्न होइन, काम गर्न काङ्ग्रेसमा फर्केको हो । नेपाली काङ्ग्रेस पार्टीलाई मजबुत बनाउन योगदान दिनसक्ने व्यक्तिलाई मतदान गर्न उनको आग्रह छ ।
नेपाली काङ्ग्रेस सुनसरीको दुई कार्यकालपछि प्रदेश नम्बर १ संसदीय दलका नेतासमेत रहेका राजीव कोइरालाले प्रदेश सभापति बन्ने चाहना भए पनि त्यसो हुन नसकेपछि भूगोलका आधारमा प्रदेश १ बाट केन्द्रीय सदस्य उम्मेदवार बनेकाले आफूलाई मतदान गर्न आग्रह गरे ।
नेपाली काङ्ग्रेस पार्टीको केन्द्रीय सदस्य उम्मेदवार बनेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काङ्ग्रेस पार्टीलाई जनप्रीय पार्टी बनाउन योगदान दिनसक्ने व्यक्तिलाई पहिचान गर्दै १ नम्बर प्रदेशको प्रतिनिधि बढीभन्दा बढी हुनुपर्नेमा जोड दिए । नेपाली काङ्ग्रेस पार्टीलाई सबैको साझा पार्टी बनाउँदै नेपाललाई विकसित बनाउन आवश्यक रहेकाले मन र मस्तिष्कबाट मनन् गरेर मतदान गर्न केन्द्रीय सदस्यका उम्मेदवार डाक्टर अबुल हुसेन अन्सारीले आग्रह गरे ।
नेपाली काङ्ग्रेस सुनसरीका सभापति केदार भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै भण्डारीले १४ औं महाधिवेशन राष्ट्रिय पर्वका रूपमा रहेकोे बताउँदै वडादेखि प्रदेशस्तरका निर्वाचनको परिणामलाई बिर्सेर सुनसरी काङ्ग्रेस एकजुट भएर कुनै गुट वा समूह नहेरी सुनसरीको प्रतिनिधित्व हुने गरी मतदान गर्न आग्रह गरे ।