सुनसरी । सुनसरीको इनरुवा नगरपालिका र कोसी गाउँपालिकामा राष्ट्रिय परिचय–पत्र सङ्कलन कार्यक्रम सुुरु भएको छ ।

राष्ट्रिय परिचय–पत्र वितरण कार्यक्रम अन्तर्गत जिल्लाको कोसी गाउँपालिका र इनरुवा नगरपालिकामा बिहीबारबाट विवरण सङ्कलन सुरु भएको हो ।

राष्ट्रिय परिचय–पत्र पञ्जीकरण तथा सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण दिएकाहरूले इनरुवा नगरपालिका र कोसी गाउँपालिकामा एकसाथ राष्ट्रिय परिचय–पत्र सङ्कलन सुुरु गरेका हुन् । परिचय–पत्रमा व्यक्तिको नाम, थर, ठेगाना, उमेर, लिङ्ग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरू औंठा छाप, परिचय नम्बर फोटो आदि समावेश गरिनेछ ।

प्रत्येक स्थानीय तहबाट वितरण हुने राष्ट्रिय परिचय–पत्र वितरण कार्यक्रम तथा तथ्याङ्क सङ्कलन कार्यमा सहभागी हुन उमेर समूूह पुगेका सम्पूर्ण जनसमुदायलाई अनुरोध गर्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अभियान इनरुवा र कोसीबाट सुरु भएको जानकारी दिए ।

सबै स्थानीय तहको तथ्याङ्क सङ्कलन एकै पटक लिन असहज हुने भएकाले इनरुवा र कोसी गाउँपालिकाभित्र सम्पूर्ण तथ्याङ्क ल्याउने उद्देश्यले दुुई स्थानीय तहको एकै समयमा तथ्याङ्क लिने व्यवस्था मिलाइएको उनले बताए ।

नागरिकता प्राप्त तथा नागरिकता प्राप्त गर्न सक्ने उमेर समूहका व्यक्तिलाई राष्ट्रिय परिचय–पत्र दिन सकिने व्यवस्था छ । तर, अहिले जिल्लाको हकमा भने नागरिकता प्राप्त व्यक्तिलाई मात्र राष्ट्रिय परिचय–पत्र दिन सकिने राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।