विराटनगर । क्यारिङ गर्ने व्यापारीले भारतबाट अवैध रूपमा तस्करीको कपडा विराटनगरमा ल्याउने र उनीहरूले पूर्वका सहरमा पुर्याउने गरेको पाइएको छ ।

भारतबाट तस्करी गरी भण्डारण गरेर राखिएको गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणको कपडा बरामद गरेपछि यस्तो तथ्य बाहिर आएको हो । विराटनगर–९ भानुटोलबाट एक जना व्यापारीले तस्करी गरी ल्याएको कपडा प्रहरीले शुक्रबार छापा मारेर बरामद गर्यो ।

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको रिट र गणको सादा पोसाकको प्रहरीले विनोद अग्रवालको घरमा भण्डारण गरी राखिएको ३५ बोरा कपडा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । बरामद गरेको कपडा विराटनगरका व्यापारी बब्लु अग्रवालको रहेको सुरक्षा स्रोतले जानकारी दिएको छ । बब्लुले भारतबाट अवैध रूपमा तस्करी गरेर कपडा ल्याउने गर्दछन् । उनले क्यारिङ गराएर भण्डारण गर्ने र व्यापारीले भनेको ठाउँमा पु¥याउने जिम्मा लिने गर्दछन् ।

यसरी क्यारिङ गरेको कपडा गन्तव्यसम्म पु¥याउँदा उनले थान हिसाबले व्यापारीसँग पैसा लिने गर्दछन् । प्रहरीले शुक्रबार बरामद गरेको कपडा लाखौं मूल्य बराबरको रहेको छ । १ बोरामा ५० देखि ७० थान कपडा हुने गर्दछ । प्रहरीले ३५ बोरा बरामद गरेको छ । 

बरामद गरेको कपडामा भेस्ट, साडी, कुर्ता सुरुवाललगायत रहेका छन् । बब्लुले तस्करी गरी ल्याएको कपडा बसपार्कपूर्व रहेको उनका मामा विनोदको घरको गोदाममा ल्याएर राख्ने गरेका थिए । उनले भारतबाट तस्करीको कपडा ल्याउन दुई दर्जन भरिया प्रयोग गर्दछन् । कपडा गोदामसम्म भरियाले ल्याइपु¥याउँदा ५ सयदेखि एक हजार रुपैयाँसम्म दिने गरेका छन् ।

व्यापारीले निश्चित रकम  क्यारिङ गर्नेलाई दिएपछि उनीहरूले भरिया प्रयोग गरेर तस्करीको कपडा विराटनगरसहित पूर्वको दुहबी, इटहरी, धरान, बेलबारी, पथरी, उर्लाबारीसम्मका व्यापारीको गोदाममा कपडा पुर्याउने गरेका छन् ।

अहिले क्यारिङ गर्नेले तस्करीको मुख्य नाका विराटनगरको दक्षिणी गेट, दरैया र चाइना मार्केट बनाएका छन् । चाइना मार्केटमा रहेका पसलहरू भारत र नेपालको सीमा जोडिएको क्षेत्रमा रहेका छन् । गिरोहले प्रयोग गरेको भरियाले तस्करीको सामान सीमावर्ती बजार जोगवनी हुँदै सीमा क्षेत्रका पसलमा मध्यरातको समयमा कटाउने गरेका छन् ।

बरामद गरेको कपडा क्यारिङमार्फत् तस्करको समूहले साहको गोदाममा ल्याउने गरेको थियो । ‘भन्सार छलेर अवैध रूपमा कपडा ल्याउन व्यापारीले ‘क्यारिङ’ गर्नेको समूहलाई दिने गर्दछन्’ यस क्षेत्रका जानकार स्रोतले भन्यो, ‘व्यापारीले प्रतिपिस कपडाको हिसाबले क्यारिङ गर्नेलाई पैसा दिने गर्दछन् ।’

भारतबाट विराटनगरमा क्यारिङमार्फत् कपडा ल्याउँदा मूल्य अनुसार दररेट क्यारिङ गर्नेले लिने गरेका छन् । कपडा क्यारिङ गर्नेले दिएको जानकारी अनुसार भारतबाट विराटनगरस्थित पसलको गोदाममा ल्याउँदा ‘क्यारिङ’ गर्नेले कपडाअनुसार मूल्य निर्धारण गरेका छन् । सर्टको प्रतिथान २० देखि २५ रूपैयाँ, पाइन्टको ४० देखि ५० रुपैयाँ, कुर्ता सुरुवालको प्रतिथान १५ रुपैयाँ, जम्परको २५ देखि ३० रुपैयाँ र सेन्डो भेस्टको २ देखि ४ रूपैयाँ लिने गरेका हुन् ।

‘कपडा व्यापारीले भारतीय बजारमा गएर कपडा खरिद गरेपछि भन्सारमा राजस्व छल्न क्यारिङ गर्नेलाई रोज्ने गरेका छन्’ स्रोतले भन्यो, ‘क्यारिङ गर्नेले पनि हाइरिस्कमा कपडा गन्तव्यसम्म पु¥याइदिने जिम्मा लिने गर्दछन् ।’ व्यापारीले क्यारिङ गर्नेलाई कपडा जिम्मा लगाएपछि बाटोमा प्रहरीले समातेमा कपडाको मूल्य क्यारिङ गर्नेले व्यहोर्नुपर्ने हुन्छ ।

तर, ठूला व्यापारीको क्यारिङ गर्ने तस्करले प्रशासनसँग राम्रो सेटिङ मिलाएको हुनाले पक्राउ पर्ने सम्भावना निकै कम हुने स्रोतको भनाइ छ । ‘कतिपय कपडा क्यारिङ गर्नेले व्यापारीलाई धरौटी रकम पनि राख्नुपर्ने हुन्छ’ लामो समयदेखि कपडा क्यारिङ गरेर छोडेका एक जनाले नाम नबताउने सर्तमा भने, ‘कसैले विश्वासको भरमा काम गर्ने भएकोले धरौटी रकम पनि नमाग्ने गरेका छन् । व्यापारीले धरौटी राख्नुको कारण भनेको बाटोमा आफ्नो कपडा प्रहरीले समातिहाल्यो भने धरौटीबाट कटौती गर्न राखेको हो ।’

kapada

होलसेलदेखि खुद्रासम्म तस्करीको कपडा
भारतबाट तस्करीको कपडा थोकदेखि खुद्रा कपडा पसलसम्म आउने गरेको पाइएको छ । तस्करीको कपडा मोरङको विराटनगर, उर्लाबारी, विराटचौक तथा सुनसरीको इटहरी र इनरुवाका कपडा पसलहरूमा जाने गरेको छ । सुनसरीमा सबैभन्दा बढी इटहरीमा जाने गरेको स्रोतको भनाइ छ । ‘सुनसरीमा धेरै कपडाका होलसेल पसलहरू भएकोले त्यहाँ तस्करीको कपडा जाने गरेको छ’ स्रोतले भन्यो, ‘अहिले लाखौंको कपडा क्यारिङ गर्नेहरूले लैजाने गरेका छन् ।’

भारतबाट तस्करीको कपडा क्यारिङ गर्न भरिया प्रयोग गर्ने गरेका छन् । क्यारिङ गर्नेहरूले निश्चित रकम दिएर कपडा बोक्न भरिया लगाउने गरेका हुन् । क्यारिङ गर्नेले ३ सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म भरियालाई दिने गर्दछन् । क्यारिङ गर्नेले राति र बिहानीपख भारतबाट कपडा तस्करी गरी ल्याउने गर्दछन् । रातिको १० बजे पछिदेखि खुल्ला सीमाको फाइदा उठाउँदै क्यारिङ गर्नेले तस्करीको कपडा भरिया प्रयोग गरी नेपाल ल्याउने गर्दछन् ।

भारतबाट ल्याएर सुरक्षित ठाउँमा तस्करीको कपडा राख्ने गर्दछन् । त्यसपछि साइकल, सिटी सफारी र टेम्पोमा तस्करीको कपडा क्यारिङ गर्नेले व्यापारीको गोदामसम्म पु¥याउने गर्दछन् । कपडा आयात गर्दा रेडिमेडमा २ देखि ३०, थानमा १३ र सुतीमा ५ प्रतिशित कर लाग्ने भएकोले व्यापारीले क्यारिङलाई कपडा ल्याउने जिम्मा दिने गरेका हुन् । विराटनगरमा पनि एक दर्जन बढी कपडाको क्यारिङ गर्नेहरू छन् ।