विराटनगर । बौद्ध धर्मलम्बीहरूको सुत्र पाठ (बुमपाठ) विराटनगरमा हुने भएको छ । 

टाशी छ्योइलिङ बौद्ध गुम्बा परिवारको आयोजनामा विराटनगर – १६ रानी मिल्स एरियामा बुद्ध वचन प्रज्ञा पारिमिता सूत्र पाठ बुमपाठ समारोह हुने भएको हो । 

बुमपाठ पाँच दिनसम्म बौद्ध गुम्बामा सुरु हुने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । मंसिर २३ देखि २७ गतेसम्म बौद्ध गुम्बामा बुमपाठ हुने आयोजक समितिका सूचना अधिकारी तथा गुम्बाका कोषाध्यक्ष अनुप कुमार स्याङबोले जानकारी दिए ।

विश्व शान्तिको लागि पाँच दिवसीय बूमपाठ बौद्ध गुम्बामा हुन लागेको उनले बताए । ‘पाँच दिनसम्म संचालन हुने बुमपाठमा १० हजार भन्दा बढी श्रद्धालुहरुको सहभागिता हुने हामीले अपेक्षा राखेका छौं,’ सूचना अधिकारी स्याङबोले भने, ‘बुमपाठको अन्तिम दिन ठूलो संख्यामा भत्तजन तथा श्रद्धालुहरुको उपस्थित हुन्छ ।

अन्तिम दिन बुमपाठको खास दिन हो । त्यसदिन अभिषेक हुन्छ ।’ गुम्बामा ६ वर्षपछि बुमपाठ हुन लागेको हो । दुई दर्जन लामाहरूले बुम पाठमा बूद्ध वचन गर्नेछन् । विराटनगरमा तीन हजार बुद्ध धर्मलम्बीहरु रहेका छन् ।