सिरहा । कल्याणपुर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति,योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।

विनियोजित बजेटमा आर्थिक वर्ष २०७८/०७९मा सबै भन्दा बढी भौतिक निर्माण तथा शैक्षिक सुधारको कार्यक्रममा बढी प्राथमिकता दिँदै वडाबाट छानिएका तथा सिफारिस भई आएका  वडा स्तरीय योजना  तथा कार्यक्रमको लागि १५ करोड ६९ लाख ६ हजार विनियोजित गरिएको छ भने स्थानीय सडक,कृषि सडक,ग्रामीण सडक निर्माण मर्मत सम्भार तथा ग्राभेलको साथै पक्की सडक निर्माण बाटोको लागि ६ करोड २८ लाख ५० हजार विनियोजित गरिएको कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले बताए । 

त्यसै गरी  शैक्षिक सुधार कार्यक्रमहरूको लागि ६० लाख,स्वास्थ्य क्षेत्रमा औषधि तथा उपकरण खरिद गरी निःशुल्क: स्वास्थ्य सेवाका लागि ६० लाख,पोखरी निर्माण,प्राङ्गारिक मल वितरण गहुँ बिउ वितरण तथा फल फूल खेतीको लागि ५५ लाख विनियोजित गरिएको छ ।

पशु विकासको लागि विभिन्न कार्यक्रम गर्न ३० लाख ,महिला विकास कार्यक्रम,अपाङ्ग परिचयपत्र,बाल संरक्षण तथा जन चेतनामूलक कार्यक्रम सञ्चालनको लागि ५ लाख,लक्षित वर्गको कार्यक्रमको लागि ४० लाख,बिपद व्यवस्थापन कार्यका लागि ५० लाख,धर्म संस्कृति संरक्षणका लागि ५ लाख तथा खेलकुद कार्यक्रमका लागि ५ लाख विनियोजित गरिएको जनाएका छन् ।

यसरी नगरपालिकाको ०७८/७९ को अनुमानित आय तर्फ ,गत आ.व. को मौज्दात,आन्तरिक स्रोत,सङ्घ र प्रदेशबाट प्राप्त राजस्व,सङ्घबाट वित्तीय समानिकरण अनुदान,प्रदेशबाट समानाधिकरण तथा सङ्घ प्रदेशबाट समानाधिकरण,सुरक्षा कार्यक्रम,समपूरक अनुदान तथा मधेश स्मृद्धि कार्यक्रम र विशेष अनुदान गरी ९१ करोड ३४ लाख ४९ हजार १४ रुपैया ५० पैसाको बजेट विनियोजित भएको छ भन्ने व्यय तर्फ पुँजीगतमा नगर स्तरीय,वडा स्तरीय,चालु तर्फको खर्च,कार्यक्रमको खर्च,सङ्घीय सशर्त अनुदानमा पुँजीगत र चालु खर्च,सङ्घीय विशेष अनुदान खर्च,प्रदेश विशेष अनुदान खर्च,तराइ मधेस  स्मृद्धि कार्यक्रम खर्च,सामाजिक सुरक्षा तथा  बाल पोषण तथा खर्च हुन न सकेका फिर्ता रकम खर्च गरी विनियोजित बजेट कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले प्रस्तुत गरेको हुन् । कल्याणपुर नगरपालिकाले सार्वजनिक गरेको प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा पहिलो प्राथमिकतामा शिक्षा,सडक,स्वास्थ्य र कृषिमा रहेको बताए ।

शिक्षा सुधारमा जोड

नगरभित्रका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षाको रणनीति लिँदै अगाडी बढ्ने नीति लिइएको छ । सामुदायिक विद्यालयलाई अङ्ग्रेजी माध्यमबाट पठनपाठनमा जोड दिँदै प्रत्येक वडामा ‘एक नमुना विद्यालयको रूपमा स्तरोन्नति गर्ने योजना रहेको कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले बताए ।

कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले भने, ‘नगरभित्रका सामुदायिक विद्यालयहरूमा प्रविधि जडान गर्दै छु । जसले प्रविधिमैत्री शिक्षा नीतिलाई लागु गराउन मद्दत पुग्छ । समय बदलिएको छ र अब विना प्रविधि विश्व बजारमा प्रतिस्पर्धा गर्न सकिँदैन ।

उक्त कार्यक्रममा कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा अतिथि रूपमा कल्याणपुर नगरपालिका वडा नं.६ का वडाअध्यक्ष मोतिवुल राइन,विभिन्न वडाका वडाअध्यक्षहरु,कल्याणपुर नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरू लगायत, नागरिक समाज,सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।