जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ ।

काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सुन र नगदसहित दुई युवक पक्राउ

प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो।समिम अख्तर रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उनले बताए।