विराटनगर । एक वृद्धा एकल दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै अमानवीय तरिकाले कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र दलित अगुवाहरूले न्यायका लागि सङ्घर्ष थालेका छन् ।

२३ कात्तिकमा सुनसरीको दुहबी नगरपालिका–५ की ७० वर्षीया लक्ष्मी परियार र उनकी छोरी ४० वर्षीया आरती परियारलाई इलाका प्रहरी कार्यालय दुहबीकै अगाडि जातीय गालीगलौज गर्दै लछापछार पारेर कुटपिट गर्नेहरूलाई प्रहरीले पक्राउ नगरेको भन्दै न्यायको लागि सङ्घर्ष थालेको हो ।

वृद्धा महिलालाई दुहबी नगरपालिका–४ का ३९ वर्षीय रोशन कार्की, उनका भाइ ३५ वर्षीय रवि कार्की र ज्वाइँ  ३२ वर्षीय सन्तोष कर्णलाई प्रहरीले पक्राउ नगरेको भन्दै पीडित र दलित अगुवाहरूले प्रहरी कार्यालयअगाडि पत्रकार सम्मेलन गर्दै न्यायका लागि सङ्घर्ष थालेका हुन् ।

दलित अगुवा र पीडितहरूले अमानवीय तरिकाले वृद्धा एकल दलित महिला र उनकी छोरीलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्नेहरूलाई पक्राउ गरेर अनुसन्धान अगाडि नबढाएसम्म सङ्घर्ष निरन्तर जारी राख्ने बताएका छन् ।

न्यायका लागि मानवअधिकार र दलित आयोगदेखि मुख्यमन्त्री, गृहमन्त्रीसम्म जाने उनीहरूको तयारी छ ।  आरोपी पक्राउ नपरेमा एक भएर अझै कडा सङ्घर्ष थाल्ने उनीहरूले जानकारी गराएका छन् । 

पत्रकार सम्मेलन गर्दै पीडित वृद्धा लक्ष्मी र उनकी छोरीले आफूहरूलाई अमानवीय तरिकाले कुटपिट गर्नेहरूविरुद्ध किटानी जाहेरी दर्ता गरे पनि प्रहरीले पक्राउ नगरेकोले न्यायका लागि सङ्घर्ष थाल्न बाध्य भएको बताए ।

आरोपीहरूलाई पक्राउ गरेर कानूनी कारबाही नगरेसम्म आफूहरूले न्यायका लागि निरन्तर सङ्घर्ष गरिरहने उनीहरूको अठोट छ । आमा लक्ष्मी र छोरी आरतीले भने, ‘हामीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गराउन हामी आइजी, मुख्यमन्त्री, गृहमन्त्री,  प्रधानमन्त्री ककसलाई भेट्नुपर्ने, कहाँ कहाँ जानुपर्ने हो र कस्तो कस्तो अनसन बस्नुपर्ने हो, हामी तयार छौं ।’

दलित अगुवा ज्ञानबहादुर परियारले बल र पैसाको भरमा न्याय मार्न खोजिएकोले सबै दलित एक भएर न्यायको सङ्घर्षलाई चरणबद्ध रूपमा अगाडि बढाउन बाध्य भएको बताए ।

अमानवीय कुटपिट भएपछि पीडितहरूले इलाका प्रहरी कार्यालय दुहबीमा रोशन कार्की, रविन कार्की र ज्वाइँ सन्तोष कर्णविरुद्ध ज्यान मार्ने उद्योग र जातीय विभेद कसुरमा किटानी जाहेरी दिएका थिए ।

तर, प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले सरकारी वकिलको कार्यालयमार्फत् ९ मङ्सिरमा बल्ल इप्रका दुहबीमा ‘छुवाछुत, उत्पीडन र ज्यानमार्ने उद्योग’ कसुरमा जाहेरी दर्ता गराउन सफल भएका छन् । तर, प्रहरीले जाहेरी दर्ता गरे पनि खुलेआम हिँडिरहेका कुनै आरोपीलाई पक्राउ गरेको छैन । आरोपीहरू सबै विदेश जाने तयारीमा रहेको स्थानीय छिमेकीहरूले बताए ।

इप्रका दुहबीका इन्स्पेक्टर घनेन्द्रहाङ खजुमले बाहिर जाहेरी दर्ता गरेर आरोपीहरूलाई खोजी गरिरहेको  बताए । ‘हामी फेला पर्नासाथ पक्राउ गरेर अनुसन्धान अगाडि बढाउनेछौं, पीडितहरूले अनावश्यक हल्ला गरिरहनुभएको छ, उहाँहरूले भने झैं आजको भोलि नै सबै कुरा हुँदैन’–उनले भने ।

यौन शोषण गर्न नपाएपछि उल्टै अभद्र व्यवहारको आरोप  
दुहबी नगरपालिका–५ मा इलाका प्रहरी दुहबीनजिकै ७० वर्षीया वृद्धा लक्ष्मी परियार छोरी आरतीसँग सुकुम्बासी जमिनमा बनाएको सानो घरमा बस्दै आएकी छन् ।

एकल महिला भएको र आम्दानीको स्रोत नभएकाले वृद्धभत्ताबाट उनी गुजारा चलाउँछिन् । पीडित, आफन्त र छिमेकीहरूका अनुसार केही दिनदेखि नजिकै बस्ने रिटायर्ड प्रहरी ६५ वर्षीय टीकाराम कार्कीले  मादक पदार्थ सेवन गरेर घरमा आई लक्ष्मीकी छोरी आरतीलाई यौन शोषणको नियतले छेडखानी गर्न थालेका थिए ।

उनले आफूकै कारण सुकुम्बासी जमिनमा बासोबास गर्न सफल भएको बताउँदै भनेको नमाने उठीबास पनि लगाउन सक्ने भन्दै धाकधम्की दिने गर्दथे । प्रायः रक्सी खाएर बर्बराउँदै हिँड्ने र पैसा पनि हत्तपत्त नतिर्ने नारायणले २२ कात्तिक अपरान्ह मातेर आई आरतीलाई यौन शोषणको नियतले अभद्र व्यवहार गर्न खोजेपछि आरतीले चप्पल उठाएर चेतावनी दिँदै भगाएकी थिइन् ।

उक्त घटनापछि आरतीकी आमा र दिदी गीताले   बाबुलाई सम्हालेर राख्नू, मति छाड्दैछन् भन्दै छोराहरूलाई फोनमार्फत् सम्झाएका  थिए । तर, दलित महिलालाई छेडखानी गर्न खोज्दा चप्पल उज्याएपछि भाग्नुपरेको कुरा बाहिरिएपछि  वृद्ध नारायण कार्कीले गल्ती ढाकछोप गर्न आफूलाई अभद्र व्यवहार गरेको भन्दै २३ कात्तिकमा इप्रका दुहबीमा उजुरी दिएका थिए ।

त्यसपछि प्रहरीले सामान्य घटना ठानेर मिलापत्र गराउन दुवै पक्षलाई छलफलमा बोलाएको थियो । छलफलका क्रममा आमा छोरीले आफूहरूले कुनै गल्ती नगरेको बरु वृद्ध नारायणकै गल्ती भएको बताएपछि प्रहरीले दुवै पक्षलाई सम्झाई बुझाई पठाएको थियो । यता प्रहरीबाट कारबाही गराउन नसकेपछि कार्कीका छोरा र ज्वाइँहरू  आक्रोसित भएका थिए ।

त्यसैले वृद्धा लक्ष्मी र उनकी छोरीलाई नारायणका छोराहरू  रोशन कार्की, रवि कार्की र ज्वाइँ  सन्तोष कर्णले कार्यालयबाहिर निस्कने बित्तिकै ‘तँ दमिनीहरूलाई जे पनि गर्न सक्छौं, हाम्रो विरोधमा लाग्ने रहेछौ, तिमीहरूले के लछार्छौ ?’ भन्दै  शरीरका लुगा च्यात्दै  मुक्का र लात्तीले हान्दै घिसार्दै अमानवीय तरिकाले कुटपिट गरेका थिए ।

तर, कार्यालयअगाडि पुरुषहरूबाट महिलाहरूमाथि जघन्य कुटपिट हुँदा पनि प्रहरीले कुनै बचाउ गरेन  र कुटपिट गर्नेहरूलाई  तुरुन्तै पक्राउ पनि गर्न चाहेन ।

कुटपिटबाट आमा लक्ष्मी र छोरी आरती  गम्भीर घाइते भए ।  उनीहरू दुवैले २० दिन अस्पतालमा भर्ना भएर उपचार गराउनु प¥यो । दुहबीकै जनज्योति अस्पतालमा उपचार बापतको १ लाख रुपैयाँ पनि पीडितहरू आफैले तिर्नुपर्यो ।

अझै पनि आफूहरूको अनुहार, टाउको र शरीरमा चोट रहेको तथा दुखाइले निरन्तर ज्वरो आइरहेकोले औषधि सेवन गरिरहेको उनीहरूले बताए ।