भद्रपुर। अर्जुनधारा नगरपालिका ११ सालबारीस्थित चारआली शनिश्चरे सडकखण्डमा कालिखोलाको कल्भर्टमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राकेश थापाले जनाए । शनिबार राति साढे ९ बजे पश्चिमतर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किएर खोलामा झरी दुर्घटना भएको उनले जनाए ।
घटनाको जानकारी पाएलगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागि मनमोहन अस्पताल बिर्तामोड पठाईएको उनले जनाए । अस्पताल पुर्याउन साथ उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, मोरङको सुन्दरहरैँचा नगरपालिका ४ दुलारी स्थित पूर्व-पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खा रहेका छन् । हिजो बेलुका पौने ६ बजे पश्चिम आउँदै गरेको विआर ५० जिए ०३०६ नम्बरकाे भारतीय लहरीले विपरीत दिशाबाट जाँदै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका लिङ्खाको धरानस्थित वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएकाे छ ।