यासोक । पाँचथरको कुम्मायक गाउँपालिकाले पहिरो पीडित नागरिकलाई राहत वितरण गरेको छ । वर्षाको कारण विस्थापित भएका कुम्मायक—२ माङजाबुङका तीन घर परिवारलाई राहत वितरण गरेको हो । गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ सहितको जनप्रतिनिधिको टोलिले पीडित परिवारलाई नगद र टेन्ड वितरण हो ।
पहिरोले विस्थापित भएका कुम्मायक—२ माङजाबुङका छविलाल शेर्मालाई ५० हजार, विष्णुमाया फोम्बोलाई ४० हजार र नविन आङदेम्बेलाई ४० हजार गरी १ लाख ३० हजार नगद र टेन्ड वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
अविरल बर्षातको कारण पहिरो जाँदा वडाका तीन घर विस्थापित भएका थिए । विस्थापित नागरिकलाई स्थापित गर्न नगद र बस्ने अस्थाई टेन्डको व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । गाउ“पालिकाको बढी क्षति कुम्मायक २ मा भएको छ । किसानले लगाएको सयौँ रोपनी धान खेती समेत बाढीले बगाएको छ । बाढी पहिरोले क्षति पुर्याएको स्थानको विवरण संकलन गरी स्थानीय सरकारले राहत उपलब्ध गराउने अध्यक्ष चेम्जोङको भनाइ छ ।
सङ्घीय सरकार प्रभावित क्षेत्रका नागरिकलाई राहत उपलब्ध गराउने आश्वासन दिए पनि हालसम्म गाउँपालिकाको खातामा राहत रकम जम्मा नभएकाले तत्काल गाउँपालिकाले आफ्नो श्रोतबाट राहत उपलब्ध गराएको कार्यालयले जनाएको छ । राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारी, २ नं. वडाअध्यक्ष बालकृष्ण शेर्मा लगायत स्थानीयको सहभागिता रहेको थियो ।