पाँचथर । उत्तरपूर्वी पाँचथरको याङ्वरक गाउँपालिकामा तीनवटा महत्वपूर्ण पूर्वाधार निर्माणका काम अघि बढेका छन् ।

गाउँपालिकाको लागि महत्व राख्ने २५ करोड लागतका तीन पूर्वाधार निर्माणको काम अघि बढाइएको गाउँपालिका अध्यक्ष लेखनाथ खतिवडाले बताए । जसमध्ये दुईवटा आयोजनाको ठेक्का सम्झौता भइसकेको छ भने बाँकी एकको बोलपत्र आह्वान भइसकेको छ ।

याङ्वरक–४ थर्पुमा आधारभूत अस्पताल भवन निर्माणको लागि ठेक्का सम्झौता भइसकेको छ । १५ शøयाको उक्त अस्पताल भवन सङ्घीय सरकारको लगानीमा निर्माण हुन लागेको हो । निर्माणका लागि मोरङको नमुना वीर जेभीले भ्याटसहित १४ करोड ५७ लाख २२ हजार ६ सय ४४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

२०८० भदौ १ सम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको गाउँपालिकाका इञ्जिनियर शरद दाहालले बताए । आधारभूत अस्पताल निर्माणका लागि काम अघि बढेपछि गाउँपालिकावासी हर्षित बनेका छन् ।

गाउँपालिकाको महत्वपूर्णस्थल याङ्वरक पोखरी संरक्षणका लागि पनि ठेक्का सम्झौता भइसकेको गाउँपालिकाले जनाएको छ । ‘निशान कालिका धाम तथा याङ्वरक पोखरी संरक्षण’ का लागि सीएम–जोशी–आँशु जेभी काठमाडौंसँग ६ करोड ४४ लाख २५ हजार ९२ रुपैयाँमा २०८१ असोज १ गतेसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

यस आयोजना अन्तर्गत गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने गरी संरचनाहरू निर्माण हुने बताइएको छ । यसैगरी गाउँपालिकामा बहुउद्देश्यीय कवर्डहल निर्माणका लागि बोलपत्र आह्वान भएको छ ।

तीन ब्याडमिण्टन कोर्ट, एउटा भलिबल कोर्ट र पाँच सय दर्शक अटाउने प्याराफिटसहितको बहुउद्देश्यीय कवर्डहल निर्माणका लागि बोलपत्र आह्वान गरिएको इञ्जिनियर दाहालले बताए ।

गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङ्हाङले गाउँपालिका आफै र माथिल्लो तहका सरकारहरूसँगको समन्वयमा आफूहरू निर्वाचित भएर आएको पहिलो कार्यकालमै गाउँपालिकामा महत्वपूर्ण पूर्वाधार निर्माणका काम पूरा गर्न लागिपरेको बताइन् ।