धरान । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि विभागले धरानस्थित कृषिउपज बजारलाई मुलुककै उत्कृष्ट कृषिउपज बजार घोषित गर्दै आठौंपटक पुरस्कृत गरेको छ ।

मुलुकभरिका ११ वटा कृषिउपज थोक बजारबीचको व्यवस्थापन पक्षलाई मूल्याङ्कन गरेर ४१ औं विश्व खाद्य दिवसको अवसर पारेर शुक्रबार धरानको कृषिबजारलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो ।

कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले काठमाडौंमा पुरस्कार ग्रहण गरेका छन् । उनका अनुसार पुरस्कार बापत प्रमाण–पत्र र नगद १० हजार रुपैयाँ रहेको छ । उनले भने, ‘मुलुककै नमुनामा कृषिबजारको रूपमा उत्कृष्ट भएबापत मन्त्रालयबाट आगामी वर्ष बजेट विनियोजनमा पहिलो प्राथमिकतामा राखिने भएको छ ।

यसअघि पनि पुरस्कृत हँुदा धरानको कृषिबजारको भौतिक पूर्वाधार विस्तार गर्न सरकारले आर्थिक सहयोग गर्दै आएको थियो । यो पटक पनि आर्थिक सहयोग पाउने आशा पलाएको छ ।’

०५२ सालमा एसियाली विकास बैङ्क (एडिबी) को आर्थिक र प्राविधिक सहयोगमा धरान–१३ मा कृषि विकास मन्त्रालयको स्वामित्वमा रहेको १ बिघा १३ कठ्ठा ६ धुर जग्गामा सञ्चालित कृषिउपज थोक बजारमा किसान र व्यापारीका लागि न्यूनतम् सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

मुलुकभरका कृषि थोकबजारहरूको मूल्याङ्कनमा सिन्धुली कृषि थोकबजार दोस्रो र बुटवल कृषि थोकबजारलाई तेस्रो घोषणा गरी पुरस्कृत गरिएको थियो ।