विराटनगर । सरकारले कार्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना सुरु गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क विभागले कात्तिक सुरु हुने जनगणना मङ्सिर ९ गतेसम्म चल्ने बताएको छ । प्रत्येक १० वर्षमा हुँदै आएको जनगणना यसअघि जेठ २५ देखि असार ८ गतेसम्ममा सक्ने लक्ष्य लिइएको थियो । तर, कोभिड–१९ महामारीका कारण पूर्वनिर्धारित कार्यक्रम स्थगन गरिएको थियो ।
जनगणनाको लागि मोरङमा ६ सय गणक परिचालन गरिने प्रदेश जनगणना कार्यालयका निर्देशक तीर्थराज बरालले जानकारी दिए । मोरङमा दुई वटा जनगणना कार्यालय हुनेछ । ‘क’ र ‘ख’ नामकरण गरी जनगणना कार्यालय हुने भएको छ । विराटनगरमा क र बेलबारी ख जनगणना कार्यालय हुने उनले बताए ।
यही कात्तिकदेखि हुने जनगणना नेपालको जनगणनाको १२ औँ शृङ्खला हो । जनगणनामा नेपालको घर, परिवार तथा व्यक्तिहरूको निश्चित अवधिमा निश्चित विधि अपनाई पूर्ण रूपमा गणना गर्नुपर्ने हुन्छ । यस पटकको जनगणनामा देशभरिमा ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक अनुमानित ७० लाख परिवार तथा ३ करोड जनसङ्ख्याको गणना १५ दिनको अवधिमा सम्पन्न गरिने तथ्याङ्क विभागका प्रमुख केशव गौतमले जानकारी दिए ।
मिडिया एक्सन नेपालले विराटनगरमा शुक्रबार आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीमा उनले गणनामा करिब साढे चार अर्ब खर्च हुने जानकारी दिए । ‘अहिले जनगणनाको लागि गणक र सुपरिवेक्षकहरू नियुक्ति भई तालिमहरू सञ्चालन भइसकेको छ,’ उनले भने, ‘तालिम सकिएर र तयारीका काम सकेपछि मूल जनगणना कार्य आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।’ विभागका प्रमुखले कार्यशाला गोष्ठीमा गणनामा साेधिने २५ प्रश्नको बारेमा पनि जानकारी गराएका थिए ।
कार्यशाला गोष्ठीमा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्त, प्रदेश जनगणना कार्यालय विराटनगरका निर्देशक तीर्थराज बराल, स्वास्थ्य पत्रकार सङ्घका पूर्व अध्यक्ष कल्पना आचार्य लगायले सहजीकरण गरेका थिए । उक्त कार्यशालामा झापा, मोरङ र सुनसरीका २५ जना सम्चारकर्मीहरूको सहभागिता रहेको थियो ।