यसोक । पाँचथरको कुम्मायक गाउँपालिकामा सार्वजनिक सवारी साधनले मनोमानी ढङ्गले भाडा असुलेको गुनासो बढेपछि गाउँपालिकाले नयाँ भाडादर कायम गरेको छ । चाडपर्वको समयमा यात्रुबाट दोब्बर भाडा असुलेको जनगुनासोका आधारमा गाउँपालिकाले सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण गरेको हो ।
कात्र्तिक ७ गते बसेको कार्यपालिका बैठकले लामो दुरी र छोटो दुरीका लागि छुट्ने सवारी साधनको भाडा दर कायम गरेको हो । कोभिड–१९ को महामारीभन्दा पहिले कायम भएको भाडादरमा नेपाल सरकारले वृद्धि गरेको भाडा समायोजन गरी भाडा दर कायम गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । उनले चाडपर्वमा सवारी साधनले यात्रु ठग्ने काम गरेको गुनासो आएपछि नेपाल सरकारको नियममा टेकेर कार्यपालिकाले निर्णय गरेको बताए ।
गाउँपालिकाले नयाँ भाडादारको नियम कार्तिक १२ गतेदेखि कडाइका साथ लागु गर्ने जनाएको छ । नयाँ भाडा दर कायमसंगै सवारी साधनले रुट परमिट अनिवार्य गर्नुपर्ने, टिकट लिने र दिनेको व्यवस्था गर्नुपर्ने र गाडीको कागजपत्रमा समेत चेक जाँचमा कडाइ गरिने निर्णय गरेको छ । कार्यालयले गरेको निर्णय कार्यान्वयन गराउन सूचना जारी गर्दै र प्रशासनलाई पनि जानकारी गराएको गाउँपालिकाले जनाएको छ ।