धनकुटा । शहिदभूमी गाउँपालिकाले आ.व.०७७/०७८ मा विनियोजित कुल बजेटको ७६.९६ प्रतिशत प्रगति हाशिल गरेको प्रतिवेदन सार्वजानिक गरेको छ ।

गाउँपालिकाले बिहिवार आयोजना गरेको आ.व.०७७/०७८ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज राईले विनियोजित कूल वजेट चालु र पूँजिगत गरी जम्मा ४४ करोड, ५३ लाख, ८७ हजार, ८ सय ९० मध्ये ३४ करोड, २७ लाख, ५७ हजार, ६ सय ८९ रुपयाँ मात्र खर्च भएको प्रगती विवरण सार्वजानिक गरेका हुन् । जसमध्ये कुल विनियोजित बजेटको ७६.९६ प्रतिसत खर्च हुन आउँछ ।

आ.व.०७७/०७८ को चालु खर्च तर्फ विनियोजित कुल बजेटको २८ करोड, ९७ लाख, ३८ हजार, ७ सय २० मध्ये यथार्थ खर्च २२ करोड, २९ लाख, ५५ हजार, १ सय ५ रुपयाँ भएको र प्रतिशतको आधारमा हेर्दा ७६.९५ प्रतिशत मात्र खर्च भएको देखिन्छ । चालु तर्फ पदाधिकारी एवं अन्य सुविधा ५२ लाख विनियोजन भएकोमा सतप्रतिशत खर्च भएको छ ।

चालु तर्फ ४७ वटा खर्च शिर्षकमध्ये पदाधिकारी अन्य सुविधा, विमा तथा नविकरण खर्च सवारी साधन, वित्तिय व्यवसायलाई सहायता, सरकारी नियकाय, समिति एवं बोर्ड पूँजिगत निःशर्त अनुदान सतप्रतिशत खर्च भएको छ । बाँकी ४३ वटा खर्च शिर्षकमा लक्ष्य अनुसारको प्रगती हुन नसकेको देखिन्छ ।

खास गरी जनताको जीवनसँग गासिएको कृषि विकास कार्यक्रममा कुल बजेटको ४३.६२ प्रतिशत मात्र खर्च भएको देखिन्छ भने पशु विकास कार्यक्रम तर्फ भने ९७.३४ प्रतिशतले खर्च भएको छ । त्यसैगरी शिक्षामा ९० प्रतिसत र स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कुल बजेटको ६५ प्रतिशत मात्र खर्च भएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।

यसरी हेर्दा मुख्य गरेर शहिदभूमी गाउँपालिकामा बसोबास गर्ने पालिकावासी कृषि पेशामा नै वढी आत्मनिर्भर भएको पाइए पनि गाउँपालिकाले विनियोजन गरेको बजेट तथा कार्यक्रम भने ४३.६२ मात्र प्रगति भएको देखिएको छ । कृषि तर्फ जुन हिसाबले बजेट तथा कार्यक्रम कार्यान्वयन हुनु पर्ने थियो त्यो नभएको देखिन्छ । 

त्यसैगरी पुँजिगत तर्फ विनियोजित कूल बजेट १५ करोड, ५६ लाख, ४९ हजार, १ सय, ७० रुपयाँमा ११ करोड, ९८ लाख, २ हजार, ५ सय ८५ रुपयाँ खर्च भएको प्रगति प्रतिवेदनमा उल्लेख छ । प्रतिशतको आधारमा हेर्ने हो भने कुल विनियोजित बजेटको खर्च प्रतिशतको आधारमा हेर्दा ७६.९७ हुन आउँछ ।

पुँजिगत तर्फ १७ वटा बजेट शिर्षक मध्ये निर्मित भवनको संरचनात्मक सुधारमा विनियोजित बजेट सत प्रतिशत खर्च भएको छ । बाँकी बजेट तथा कार्यक्रमहरुमा लक्ष्य अनरुपको प्रगति उन्मुख देखिन्छ । विशेष गरेर पुँजिगत बजेट अन्तर्गत गैर आवशिय भवन निर्माणमा ९०.४१, मेशिनरी औजार तथा उपकरणमा ८३.४९, सडक तथा पुल निर्माणमा ९०.७८, खानेपानी संरचना निर्माण ६५.८६ प्रतिशतले प्रगती भएको छ ।

क्षेत्रगत बजेट तथा खर्च तर्फ आर्थिक विकासमा ५४.१६ प्रतिसत, सामाजिक विकासमा ८१.६९ प्रतिशत, पुर्वाधार विकासमा ७८.६६ प्रतिशत, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ७२.४३ प्रतिबत र कार्यालय सञ्चालन तथा प्रशासनिकमा ७०.९६ प्रतिशतले खर्च भएको छ । संघिय तथा प्रदेश सरकारबाट प्राप्त बजेट तथा कार्यक्रमहरु लक्ष्य अनरुप प्रगति भएको उल्लेख छ ।

गाउँपालिका अध्यक्ष मनोज राईको अध्यक्षतामा सम्पन्न आ.व.०७७/०७८ को वर्षिक प्रगति समिक्षा कार्यक्रममा शिक्षा, कृषि, पशु, स्वास्थ्य, महिला, बालबालिका, राजश्व शाखाका प्रमुखहरुले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँपालिका अन्तर्गत रहेका वडा कार्यालयहरुले पनि छट्टाछुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा शहिदभुमी गाउँपालिका वडा नं.५ का वडाध्यक्ष मल्सुराम राई र ६ नं. वडाका वडाध्यक्ष हेमकुमार राईले प्रस्तुत प्रतिवेदन माथि टिप्पणी गर्दै आफ्नो मन्तव्य राखेका थिए । सो अवसरमा उठेका जिज्ञासालाई पालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, लेखा अधिकृत नितेश कुमार शाहाले प्रतिउत्तर दिएका थिए ।

कार्यक्रम समापन गर्दै अध्यक्ष मनोज राईले भने–“जनताको अपेक्षा अनुसार गाउँगाउँबाट आएको योजनालाई बजेट तथा कार्यक्रममार्फत् कार्यान्वयन भएको प्रगति समिक्षामा देखिएको छ ।” उनले बेरुजुको कुरा धेरै उठेका छन्, रुजू नभएर बेरुजु आएको बताएका छन् । राईले भने–बेरुजु तिन प्रकारको हुने गरेको छ, अशुल उपर बेरुजु, पेश्की बेरुजु र अनियमित बेरुजु हुन् ।

बेरुजु घटाउन प्राविधिक स्टेमेट अनुसार फिल्डमा काम र काम अनुसारको अन्तिम प्राविधिक मुल्याङ्गकन कागजमा हुन पर्दछ । अन्यथा बेरुजु जिउँका तिउँ रहन्छ, बेलामा काम नसकेर कर्मचारीलाई दोष दिन पाईन्न–अध्यक्ष राईले भने । उनले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, लेखा अधिकृत नितेश कुमार शाहा र विषयगत शाखा प्रमुखहरुले पालिकावासीको हितमा राम्रो काम गरेको भन्दै उनीहरुको कामको प्रशंसा गरे ।