इनरुवा । सुनसरीमा विकास निर्माणको कामलाई नियाल्नका लागि सर्वपक्षीय अनुगमन समिति बनेको छ ।

समितिले सडक, पुलपुलेसा र अन्य विकास निर्माणका कामको अनुगमन गर्नेछ । जिल्ला प्रशासन कार्यालय सुनसरीको समन्वयमा बनेको समितिले विशेषगरी सुनसरीको दक्षिणी क्षेत्रमा भइरहेको विकास निर्माणलाई नियाल्नेछ ।

त्यसक्रममा दक्षिणी क्षेत्रमा निर्मित सडक, पुलको अनुगमन गरेको छ । सदरमुकाम जोड्ने जिल्लाका सीमावर्ती क्षेत्रका सडकको अनुगमन गरिएको हो ।

जीर्ण बनेका सडकको मर्मत र स्तरोन्नति गराउनका लागि सर्वपक्षीय अनुगमन समिति गठन गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव नेतृत्वको टोलीले सीमाक्षेत्रमा निर्मित विकास निर्माणको कामसँगै कप्तानगञ्ज–इनरुवा सडक–खण्डको स्थलगत जानकारी लिएको छ ।

हुलाकी मार्ग अन्तर्गत निर्माण चरणको प्रक्रियामा रहेको सो सडक–खण्डको जीर्ण अवस्था नियालेको टोलीले सर्वसाधारणको आवत–जावत सहज बनाउन कामको रफ्तार बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

अनुगमन टोलीले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने केसलिया खोलादेखि लौकही पुलचोक खण्डको हुलाकी मार्गको समेत निरीक्षण गरेको छ । सडक निर्माण कार्यमा ढिलाइ भइरहेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै अवस्था नियाल्न सर्वपक्षीय अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

स्थानीय तहका प्रमुखसहित सरोकारवाला सम्मिलित टोलीले हुलाकी मार्गको काम छिटो सम्पन्न गर्ने, जीर्ण सडक–खण्ड मर्मत तथा स्तरवृद्धि गरी आवत–जावतलाई सहज बनाउने जस्ता विषयमा सरोकारवालासँग छलफल गरेको छ ।

टोलीले लामो समय भइसक्दासमेत निर्माण कार्य सम्पन्न हुन नसकेको भुटाहाको मरिया खोलाको पुल निर्माणमा भइरहेको ढिलाइप्रति समेत चासो लिएको छ । दक्षिणी भेगलाई इनरुवा जोड्ने मुख्य मार्गमा पर्ने सो पुल निर्माणमा ताकेता बढाउने जस्ता विषयमा समेत अनुगमन टोलीले समन्वय गरी अघि बढ्ने निर्णय गरेको छ ।

टोलीले बाढीले पु¥याएको क्षतिका साथै किसानका समस्याका बारेमा समेत जानकारी लिएको थियो । प्रशासनले आयोजना गरेको सर्वपक्षीय अनुगमनका क्रममा इनरुवा नगरपालिका प्रमुख राजन मेहता, हरिनगर गाउँपालिका प्रमुख गफार अन्सारी, देवानगञ्ज गाउँपालिकाका प्रमुख लालीप्रसाद मेहतालगायत हुलाकी राजमार्ग आयोजनाका इञ्जिनियर तथा पदाधिकारीको उपस्थिति रहेको थियो ।