धरान । विपन्न वर्गले अब विद्युत् महसुलमा सहुलियत पाउने भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले विद्युत्को महसुल घटाएको हो । नयाँ महसुल दर आगामी मङ्सिर महिनाको विद्युत् खपतमा अर्थात् पुस महिनाको बिलिङबाट लागू हुने बताइएको छ ।
नयाँ महसुल दर अनुसार विपन्न वर्ग अर्थात् ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क लाग्ने छैन भने न्यूनतम् मासिक शुल्क ३० रुपैयाँ मात्रै तोकिएको छ ।
सिङ्गल फेजबाट विद्युत् लिएर १ सय ५१ देखि २ सय ५० युनिटसम्म खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्क ५० पैसा घटाई प्रतियुनिट ९ रुपैयाँ ५० पैसा कायम गरिएको छ । त्यस्तै ४ सय युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तालाई इनर्जी शुल्कमा प्रतियुनिट १ रुपैयाँ घटाएर ११ रुपैयाँ कायम गरिएको छ ।
थ्री फेज मिटर प्रयोग गर्ने उपभोक्ताका लागि न्यूनतम् शुल्क यथावत् राखेर इनर्जी शुल्क वर्षायाम र हिउँदमा फरक–फरक तोकिएको छ । मासिक ४ सय युनिटसम्म विद्युत् प्रयोग गर्ने थ्री फेज ग्राहकलाई हाल प्रतियुनिट ११ रुपैयाँ ५० पैसा इनर्जी शुल्क लाग्ने गरेकोमा अब वर्षायाममा १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा लाग्नेछ ।
चार सय युनिटभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकका लागि हाल कायम प्रतियुनिट १२ रुपैयाँ इनर्जी शुल्कलाई वर्षायाममा घटाएर १० रुपैयाँ ५० पैसा र हिउँदमा ११ रुपैयाँ ५० पैसा तोक्ने प्रस्ताव गरिएको छ ।
ट्युबेल सञ्चालन गर्ने उपभोक्ता तथा सिंचाइ उपभोक्ताका लागि अहिले रहेको महसुलमा ४०.६९ प्रतिशत घटाइएको आयोगले जनाएको छ ।
नयाँ महसुल दरअनुसार टाइम अफ डे (टीओडी) मिटर लिएका औद्योगिक ग्राहकको डिमाण्ड शुल्क बढाइएको छ भने अफ पिक (राति ११ देखि बिहान ५ बजेसम्म) समयको इनर्जी शुल्क घटाइएको छ ।