सुनसरी । नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै जाँदा सीमावर्ती भारतीय बजार वारिका मान्छेले भरिभराउ हुन थालेका छन् ।
रामधुनी नगरपालिकाकी सविना चौधरी मङ्गलबार भारतीय बजारबाट फर्कंदै थिइन् । झोलाभरि सामानसहित नेपाल प्रवेश गरेकी उनी असिनपसिन थिइन् । घर फर्कन उनलाई हतारो थियो । भण्टाबारीको पूर्वी बसपार्कबाट बस चढ्दै गरेकी उनीजस्ता सयौं नेपालीहरू भारतीय बजार जाने गरेका छन् ।
तिहारका बेला सीमापारिका बजार नेपाली ग्राहकले खचाखच हुने गरेको छ । सीमापारिका बजार भीमनगर, वीरपुर नेपाली ग्राहकले भरिन्छन् । नेपाली बजारमाभन्दा केही सस्तोमा सामान पाइने भएकाले पनि उता जानुपरेको सविनाको भनाइ छ । चाडपर्वका लागि चाहिने सामग्री किनमेल गर्दा भारतीय बजार आउने गरेको भीमनगरस्थित किराना पसलका साहुजी मनोज सहनी बताउँछन् ।
उनका अनुसार यहाँ आउने नेपाली ग्राहकले खाद्यान्न, खाने तेल, भाँडावर्तन, चिनी, साबुन, बिस्कुट, काजु, बदामसँगै शृङ्गारका सामग्री खरिद गर्ने गरेका छन् । स्थानीय कपडा पसल सञ्चालक राकेश गुप्ताका अनुसार भीमनगरमा मात्र करिब २ सय कपडा पसल र त्यतिकै सङ्ख्यामा किराना तथा दैनिक उपभोग्य वस्तुका पसल छन् ।
सस्तोको लोभमा ठगिँदै उपभोक्ता
मुख्य चाडपर्वका बेला कम्तीमा दैनिक २ हजारदेखि २५ सयसम्म ग्राहक भारतीय बजार किनमेलका लागि पुग्ने गरेको अनुमान उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रघुनाथ देवको छ । उनका अनुसार सस्तोको लोभमा नेपाली ग्राहकहरू भारतीय बजारमा ठगिँदै आएका छन् ।
भारतीय रुपैयाँको सटही नभएका कारण भारतीय व्यापारीहरूले नेपाली ग्राहकलाई ठग्ने गरेको उनी बताउँछन् । एकसय रुपैयाँमा ५ देखि ८ रुपैयाँसम्म बट्टा लिने गरेका छन् । सामान खरिदबापत नेपाली रुपैयाँलाई भारतीय रुपैयाँमा रूपान्तरण गर्दा अतिरिक्त पैसा असुल्ने गरिएको उनी बताउँछन् ।
‘ग्राहक अभावले सीमावर्ती बजारका नेपाली पसलहरू बन्द हुने अवस्थामा छन्’ भण्टाबारीका स्थानीय सरोज यादवले भने, ‘अचेल स्थानीयहरूसमेत सामान खरिद गर्न भारतीय बजार नै पुग्छन् ।’