प्रदेश १ को आज बस्ने प्रदेशसभा बैठकको कार्यसूची सार्वजनिक भए पनि बैठक बस्ने नबस्ने टुङ्गो लाग्न सकेको छैन । साढे १२ बजे देखि सुरु हुने भनिएको बैठकको रोक्न प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गरे थियो ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि प्रदेश १ आएकाले प्रधानमन्त्रीलाई आफ्नो क्षेत्रको अवस्थाका बारेमा जानकारी गराउनु पर्ने भयकोले बैठक रोक्न माग गरिएको काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताएका छन् ।
काँग्रेसको माग पछि नेकपा एमालेले पनि कार्त्तिक १५ गते सम्मका लागि बैठक स्थगित गर्न माग गरेको छ । दुबै दलले लिखित रूपमा बैठक स्थगित गर्न संसद् सचिवालयमा निवेदन दर्ता गराएका छन् ।
बैठक बस्ने वा स्थगित हुने भन्ने टुङ्गा नलागिरहेको अवस्थामा प्रदेशसभा बैठकको कार्यसूची भने प्रकाशित भएको छ ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी कार्यसूचीमा साढे १२ बजे नै मुख्यमन्त्री भीमप्रसाद आचार्यले सभामा पेस गरेको प्रस्तावमाथि छलफल तथा मत विभाजन हुने जनाइएको छ ।
उपसभामुख सरस्वती पोखरेलले भने बैठक अहिले दलहरू आन्तरिक छलफलमा रहेको र दलेका छलफल पछि सभामुखसँग छलफल हुने, त्यस पछि मात्र बैठक के हुने भन्ने टुङ्गाे लाग्ने बताएकी छिन् ।