प्रदेश १ का मुख्यमन्त्रीलाई नेपाली काँग्रेसका सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिने सूचना पाएको भन्दै नेपाली काँग्रेसले आज बस्ने प्रदेशसभा बैठक रोक्न माग गरेको बताइएको छ । 

नेपाली काँग्रेसले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न प्रदेशसभा सचिवालयमा लिखित निवेदन दिएको छ ।  विश्वासको मत लिने प्रयोजनका लागि  आज १२ बजेबाट बैठक बस्दै छ । निवेदनमा भने पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको बताइएको छ ।

मुख्यमन्त्रीलाई बहुमतका लागि  ४७ सांसद आवश्यक पर्छ । तर विभाजनपछि एमालेका ४१ जनामात्र सांसद छन् । राप्रपा र अन्य साना दलसहित काँग्रेसका केही सांसदले फ्लोर क्रस गरेर विश्वासको मत दिन लागेको सूचना विपक्षी गठबन्धनले पाएको बताइएको छ ।

यता, सभामुख प्रदीप भण्डारीले प्रदेशसभा बैठक रोक्ने वा नरोक्ने निर्णय गर्नुअघि दलहरूसँग परामर्श गर्ने भएका छन् ।

सांसदले फ्लोर क्रस भन्ने हल्ला भएको भए पनि शंका गरिएका सांसदहरूले संसदीय दलका बैठकमा रिपोर्टिङ गरिसकेकोले त्यो अवस्था नरहेको  जानकारी आएको नेकपा एकीकृतका संसद् राजेन्द्र राईले बताएका छन्  । कांग्रेस संसद् अगमलाल चैधरी  र चन्द्र प्रसाद श्रेष्ठले भने बैठक राेक्न माग गरेकाे तथा रिपोर्टिङ भएकाे भन्ने दुबै जानकारी नभएकाे बताएका छन् । 

 कांग्रेसका मुख्य सचेतक केदार कार्कीले फ्लोर क्रस गर्ने भन्ने हल्ला मात्र भएकाे भन्दै प्रधानमन्त्री आउने भएकाले जनताका समस्या सुनाउनु पर्ने भएकाले बैठक राेक्न माग गरिएकाे बताएका छन् ।