धरान । नेपाल २८ वर्षपछि पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । 

बंगलादेशसँग बुधबार सम्पन्न खेलमा १ १ गोलको बराबरी खेलेसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो । नेपालका लागि अञ्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । नेपाल १३ औं साफ च्याम्पियनसिपमा फाइनल पुग्न सफल भएको हो । नेपालले यो खेल जित्नै पर्ने वा बराबरी गर्नुपर्ने बाध्यता थियो । 

यता बंगलादेशले खेलको ९ औं मिनेटमा सुमन रेजाले फ्रिकिकलाई हेडिङमार्फत गोल गरेका थिए । बंगलादेशमाथि नेपाल हाबी भए पनि रक्षापंक्तिका खेलाडीका कमजोरीका कारण गोल खान पुगेको थियो । नेपाल खेलको अन्त्यतिर मात्रै लयमा फर्किन सफल बनेको थियो । 

FBllGb_UcAEOGvk

बंगलादेशका गोलरक्षक रेहमान जिकोले रेडकार्ड पाएर १० खेलाडीमा सीमित बनेको थियो । त्यसैको फाइदा लिँदै नेपालले बराबरी गर्न सफल भएको हो । यसअघि आयोजक राष्ट्र माल्दिभ्स र श्रीलंकालाई हराउँदा भारतसँग १ गोलले पराजित हुन पुगेको थियो । 

नेपालले ७ अंक जोड्न सफल भएको छ । बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ । राउन्ड रोबिन लिगका आधारमा खेलाइएको थियो । यसपटक साफ च्याम्पियनसिपमा ५ वटा देशमात्रै स्पर्धा गरिरहेका छन् । भारत र माल्दिभ्सबीचमा जसले जित्नेछ उसैसँग नेपालले फाइनलमा स्पर्धा गर्ने छ । भारत र माल्दिभ्सबीच खेल नेपाली समयअनुसार ९ः४५ मा हुँदै छ । 

FBllHCzVkAAO1EM (1)