पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा १ नम्बर प्रदेश स्तरीय तेक्वाण्दो प्रतियोगिता हुने भएको छ ।  कानेपोखरी आई.टी.एफ. तेक्वाण्दो डोजाङले शनिबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । 

‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराको साथ आगामी कार्तिक ५ र ६ गते प्रतियोगिता हुने आयोजक डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए । प्रतियोगितामा मोरङ, सुनसरी, झापा, उदयपुर, धनकुटा, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम र आयोजक डोजाङ्ग बिच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिता पुरुष २० देखि ८० र महिला २० देखि ७० किलो तौल  समूह बिच  प्रतिस्पर्धा हुने प्रशिक्षक समेत रहेका आयोजक डोजाङ्गका अध्यक्ष भुजेलले बताए । खेलमा महिला, पुरुष गरी ३५० बढी खेलाडी सहभागी हुने छ । प्रतियोगितामा सबैभन्दा बढी स्वर्ण, कांस्य र रजत प्राप्त गर्ने जिल्लाहरूलाई प्रथम, दोस्रो र तेस्रो घोषणा गरिनेछ । विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमशः १०, ८ र ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

खेलाडीहरूलाई खाना, बस्न र यातायात सहित करिब सात लाख खर्च हुने बताइएको छ । पत्रकार सम्मेलनमा १ नम्बर प्रदेशका प्रमुख प्रशिक्षक रमेश चौधरी, कानेपोखरी गाउँपालिका ६ नम्बर वडा अध्यक्ष खड्ग बस्नेत, प्रशिक्षक नवीन लामा, एमाले गाउँ अध्यक्ष दानबहादुर बस्नेत, युवा नेता नवीन पौडेल, कुमार फुयाँल, अशोक फुयाँल लगाएको उपस्थिति रहेको थियो ।

कानेपोखरीमा प्रथम, दोस्रो र तेस्रो हुने ५५ देखि ६३ केजी तौल समूहका खेलाडीहरू प्रदेशको प्रतिनिधित्व गर्दै कार्तिक १२ र १३ गते रामेछापको गाल्पामा हुने राष्ट्रिय स्तरको प्रतियोगितामा भिड्न जाने प्रशिक्षक चौधरीले बताए । रामेछापमा सो वेट समूहको सातै प्रदेशबाट तीन—तीन जना सहभागी हुनेछन् । 

खेलकुदको मध्यमबाट कानेपोखरीलाई चिनाउन, युवाहरूलाई अनुशासित, एकता भाव पैदा गर्न र खेल पर्यटनको विकास गर्ने लक्ष्यको साथ प्रतियोगिताको आयोजना गर्न लागिएको कानेपोखरी डोजाङ्गका अध्यक्ष युवराज भुजेले बताए ।