इटहरी / आइसिसी महिला ट्वान्टी–२० विश्वकप २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ । इटहरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले आज (बिहीबार) देखि एक सातासम्म इटहरीस्थित क्षेत्रीय रङ्गशालाको इन्डोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए । 

छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो–सानो समूहबाट प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजना अनुसार भदौ २७ देखि असोज २ गते कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो । 

इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाडौंमा राखिने प्रशिक्षक टमटाले जानकारी दिए । क्यानले एक महिनाअगि नै एसिया क्षेत्रको छनोट खेल खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ । गतवर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर्सकप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो ।

देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई व्यक्तिगत र सानो–सानो समूहमा प्रशिक्षण गराउँदा प्रभावकारी हुने भएकाले क्यान त्यसको तयारीमा जुटेको प्रशिक्षक टमटाको भनाइ छ । प्रशिक्षणमा प्रदेश २ का ३ जना सहित झापा, मोरङ र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम रहेको संयोजक विप्लव घोषले जानकारी दिए ।

मलेसियामा हुने भनिएको महिला टी–२० विश्वकपको एशिया छनोट २३ नोभेम्बरबाट २८ नोभेम्बरसम्म हुने बताइएको छ । जसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यान्मार, यूएई र हङ्कङ खेल्नेछ । एसिया छनोटको विजेता पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी–२० विश्वकपमा  स्थान बनाउनेछन् ।