विराटनगर । चार महिनाअगाडि सम्पन्न विराट गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय सार्वजनिक गरिएको छ । आयोजकलाई ८ लाख २ हजार ३ सय ६२ रूपैयाँ नाफा भएको जनाइएको छ ।

विराट गोल्डकप फुटबल ट्रष्टले विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी रात्रिकालीन विराट गोल्डकपमा १ करोड ४७ लाख ७४ हजार ५ सय ९४ रुपैयाँ कुल आम्दानी भएकोमा १ करोड ३९ लाख ७२ हजार २ सय ३१ रूपैयाँ खर्च भएको जानकारी गराएको हो ।

प्रतियोगिता सञ्चालनका लागि विराटनगर महानगरपालिकाले १२ लाख, समाजिक विकास मन्त्रालयले १५ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट ४ लाख रुपैयाँ आर्थिक सहयोग आएको विराट गोल्डकप आयोजक समितिका संयोजक मनोजविक्रम साहले जानकारी दिए । यस्तै मुख्य प्रयोजकहरूबाट २० लाख, प्रयोजकहरूबाट १० लाख, सह–प्रयोजकहरूबाट ५० हजार प्राप्त भएको थियो भने टिकट बिक्रीबाट ५९ लाख ७६ हजार १ सय आम्दानी भएको संयोजक साहले जानकारी दिए ।

प्रदेश सरकारबाट ४० लाख रुपैयाँ दिने घोषणा गरेको भए पनि प्रतियोगिता सम्पन्न भएपछि १५ लाख रुपैयाँ मात्र सहयोग आएको आयोजकले जनाएको छ । विराटनगरस्थित सहिद रङ्गशालामा फ्लडलाइट जडान गरी २०७७ चैत २६ देखि ०७८ वैशाख ४ गतेसम्म भव्य रूपमा विराट गोल्डकप प्रतियोगिता सम्पन्न भएको थियो ।

छैठौं संस्करणको विराट गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल काठमाडौंले जितेको थियो । उपविजेता पञ्जाव पुलिस जालान्धर भारत बनेको थियो । प्रतियोगिताको विजेताले ट्रफीसहित १५ लाख १५ हजार रुपैयाँ प्राप्त गरेको थियो भने उपविजेताले ७ लाख ५१ हजार रुपैयाँ राशि पाएको थियो ।

युवा व्यवसायी साह विराट गोल्डकप प्रतियोगिताको आयोजक समितिको संयोजक बनेपछि पहिलो पटक फ्लडलाइट जडान गरी रात्रिकालीन प्रतियोगिता गरिएको थियो । विराटनगरको ऐतिहासिक महत्व बोकेको गोल्डकपलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने साहले बताए ।

‘सबैको साथ सहयोगले यसपटकको रात्रिकालीन विराट गोल्डकप भव्य रूपमा सम्पन्न भयो’ पत्रकार सम्मेलनमा उनले भने, ‘यो सफलता सबैको साथ सहयोग र हौसलाले मात्र प्राप्त भएको हो ।’ विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले आगामी दिनमा पनि विराट गोल्डकपलाई निरन्तरता दिएर ट्रष्ट अगाडि बढ्ने बताए ।