अस्ट्रेलियाले विश्वकप छनोटको तेस्रो चरणमा पनि विजयी सुरुआत गरेको छ । विश्वकप छनोट खेलमा लगातार नवौं जित हासिल गर्ने क्रममा अस्ट्रेलियाले कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा चीनविरूद्ध ३–० को विजयी नतिजा निकालेको छ । 

अस्ट्रेलियाको जितका लागि अवेर माबिल, मार्टिन बोइल र बैकल्पिक खेलाडी मिचेल ड्युकले गोल गरे ।

पछिल्ला चार छनोट खेलमा जित हासिल गरेको चीनले बिहीबार पनि विपक्षीलाई सुरुमा दबाबमा राख्ने प्रयास गरेको थियो । तर अस्ट्रेलियाले २४ औं मिनेटमा माबिलको गोलबाट अग्रता लियो । त्यसको दुई मिनेट नबित्दै बोइलले टोलीको अग्रता दोब्बर पारे भने ड्युकले ७०औं मिनेटमा टोलीको तेस्रो गोल गरेका थिए ।

विश्वकप छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘बी’मा अस्ट्रेलियासँगै साउदी अरेबिया र ओमानले पनि विजयी सुरुआत गरे । ओमानले जापानमाथि १–० को जित निकाल्दा साउदी अरेबियाले भियतनामलाई ३–१ को नतिजामा निराश पार्यो । 

यसैगरी समूह ‘ए’ मा दक्षिण कोरिया र इराक तथा संयुक्त अरब इमिरेट्स (युएई) ले गोलरहित बराबरी नतिजा निकाल्दा इरानले सिरियालाई १–० को नतिजामा हरायो ।