विजयपुर। धरान उपमहानगरको शिक्षा महाशाखाको कार्यालयका लागि आवश्यक भौतिक संरचना नहुँदा कार्य सञ्चालन गर्न समस्या हुँदै आएको छ । यतिसम्म कि आवश्यक कागजात राख्ने ठाउँ छैन भने कर्मचारी सहज रूपमा काम गर्नसक्ने अवस्था छैन ।

एकातिर खातैखात कागज, अर्कोतिर बोराका पोकैपोका, खचाखच कर्मचारी, कार्यालयमा सामाजिक दूरी कायम गर्ने ठाउँ छैन, काम हुँदाहुँदै पनि कर्मचारी बिदामा बस्नुपर्ने बाध्यता, धरानका शैक्षिक संस्थाका आवश्यक कागजात भेटिँदैनन् यो धरान उपमहानगरपालिका शिक्षा महाशाखाको अवस्था हो । मुलुक पुनर्संरचना भई सङ्घीयता आएसँगै शिक्षा र स्वास्थ्य क्षेत्रको अधिकार स्थानीय तहलाई आयो ।

नेपालको संविधान २०७२ जारी भएसँगै कक्षा १ देखि १२ सम्मको सञ्चालन अनुमतिदेखि नियमन गर्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई आयो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएको पनि ४ वर्ष पूरा भयो । जनप्रतिनिधि आएको ४ वर्ष पूरा भए पनि धरान उपमहानगरले स्थानीय तहलाई सञ्चालनको अधिकार आएको २ वटा महाशाखा शिक्षा र स्वास्थ्य महाशाखालाई हालसम्म कार्यालयका लागि भौतिक संरचना अर्थात् कोठासमेत व्यवस्था गर्न सकेको छैन । धरान उपमहानगरको शिक्षा महाशाखा कार्यालयको बिजोक अवस्था छ ।

bora

फर्निचरलगायतका सुविधाहरू त होइन, टेबुल र कुर्सी राखेर काम गर्ने कोठासम्म पर्याप्त छैन । यतिसम्म कि एउटै सानो कोठामा कार्यालयका सम्पूर्ण कुरा सञ्चालन गर्नुपरेको छ । शिक्षा महाशाखामा आफ्ना कार्यालयका साथै शैक्षिक सङ्घ–संस्थाका कागजातहरू व्यवस्थित छैनन्, भएका पनि खातैखात वा बोरामा पोको पारेर राखिएको छ । धरानको शिक्षासँग सम्बन्धित कागजात खोजेको बेला भेटिँदैन ।

शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवाललाई किन शैक्षिक संस्थाका कागजातहरू व्यवस्थित नभएको भन्ने जिज्ञासामा भौतिक संरचना अर्थात् कागजात मगाएर राख्ने ठाउँ नभएकाले व्यवस्थित गर्न नसकेको बताए । उनले आफू आएको २ वर्ष बिते पनि पनि भौतिक संरचना नहुँदा शैक्षिक संस्थाहरूको आवश्यक कागजात मगाएर व्यवस्थित गर्न नसकेको बताए ।

उनले साविकको जिल्ला शिक्षा कार्यालयले पनि आवश्यक कागजात नदिएको बताए ।  उनले भने, ‘हेर्नुहोस् त हामीले करिब २ सय शैक्षिक संस्थाको कागजात राख्नुपर्छ, ठाउँ यही हो, कहाँ राख्नु ? कार्यालयका कागजात त बोरामा राख्नुपरेको छ ।’ उनले कार्यालय व्यवस्थापन होला र कागजात व्यवस्थित बनाउँला भन्दाभन्दै २ वर्ष बितेको बताए । उनले हाल पनि उपमहनगरको शिक्षा महाशाखाको सानो कोठामा ७ जना कर्मचारीले काम गर्दै आएका छन् ।

महाशाखाका शाखा अधिकृत रामचन्द्र कार्कीले  सामाजिक दूरी कायम गर्ने स्थान नहुँदा काम हुदाँहुँदै पनि १५ दिन बिदा बसेको बताए । ‘२ जना अट्ने ठाउँ छ, हामीले ६ जनाले जोडिएर काम गर्नुपर्छ’–उनले भने । महाशाखाका कर्मचारीले एउटा मात्रै कोठा, त्यो पनि पनि सानो हुँदा काम कारबाही गर्न समस्या भएको बताए ।

ratna-edu