धरान । नेपाल योङ इण्टरपेनर फोरम शाखा सुनसरीले बिहीबार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सुनसरीको इटहरीस्थित सेण्ट्रल प्लाजामा सम्पन्न रक्तदानमा ६७ युनिट रगत सङ्कलन भएको संस्थाका अध्यक्ष कुमुद निरौलाले जानकारी दिए । उनका अनुसार रगत अभावलाई मध्यनजर गर्दै देशभर रहेका ११ वटै शाखाले रक्तदान कार्यक्रम गरेको छ । त्यसअन्तर्गत सुनसरीले पनि रक्तदान कार्यक्रम गरेको हो ।
उद्योग वाणिज्य महासङ्घबाट सम्बन्धन प्राप्त उक्त संस्था सुनसरीमा तीन वर्षअघि मात्रै शाखाका रूपमा स्थापित भएको हो । यसले व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको उनले जानकारी दिए ।
पहिलोपटक रक्तदान कार्यक्रम गरिएको हो । संस्थामा ३५ जना युवाहरू आबद्ध रहेका छन् । १८ वर्षदेखि ४० वर्षसम्मका युवाहरू आबद्ध रहेको संस्था राष्ट्रिय युवा मञ्चसँग सहकार्य गरेर रक्तदान कार्यक्रम गरेको हो । जिल्ला रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको जनाइएको छ ।
यसैगरी लायन्स क्लब अफ इटहरी क्रिएटिभ लेडीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सुन्दरहरंैचाको चाँदनी पेट्रोल पम्पको प्राङ्गणमा शनिबार भएको रक्तदानमा ४१ युनिट रगत सङ्कलन भएको छ ।
नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको अध्यक्ष नीता शर्माले बताइन् ।