विजयपुर ।धरानका विभिन्न समस्याहरुको समाधानका लागि पहल गर्न  उपमहानगरका प्रमुख तिलक राई सहितको टोलि काठमाण्डौ पुगेको छ ।

बुधबार ४ राजनीतिक दलका प्रतिनिधि, बुद्धिजवी, नागरिक दवाव सञ्जाल, पत्रकारलगायतको समूह काठमाण्डौँ पुगेको हो । धरानका विभिन्न समस्या समाधानका लागि सङ्घीय सरकारको ध्यानाकर्षण गराउन  गएको बताइको छ । धरानको विकासदेखि प्रशासनिक कामका लागि काठमाडौं गएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद खानलले बताए ।

उनले विशेष गरेर धरान–तमोर सुरुङ मार्ग, सेउती करिडोर, जोगबनी–किमाथाङ्का ६ लेन राजमार्ग, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानका लागि गएको बताए ।

नेपाली काङ्ग्रेस धरानका सचिव श्याम पोखरेलले मुख्य गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान समस्या समाधान लागि उपमहानगर प्रमुखसहित राजनीतिक दल र विज्ञहरुसहित आएको जानकारी दिए । उनले सङ्घीय सरकारबाट थप ५० करोड अनुदान पहल गर्ने बताए । धरानमा सधैँ काम बढि बजेटको हुने र निकाशा कम हुनाले समस्या भएको छ, त्यो समाधान गर्न माग  गरेको छौँ, अर्थमन्त्री र गृहमन्त्रीलाई कुरा राखेका छौ उहाँहरु सकारात्मक हुनुहुन्छ, सचिव पोखरेलले भने ।

जोगबनी–किमथाङ्काको मापदण्ड विषयमा पनि समाधानको पहल गर्ने बताए । राजमार्ग हुनका लागि २ सय ५ फुट चाहिने रहेछ २ सय ५ फुट बनाउँदा धरानमा मुख्य बजार क्षेत्र तहसनहस हुने भएकाले ८० फुट कायम गर्न पहल गर्ने उनले बताए । १ सय फुटसम्म खाली गर्नका लागि सडक विभागले पत्रचारसमेत गरेको पोखरेलले बताए । उनले सबैभन्दा महत्वपुर्ण बीपी प्रतिष्ठानको समस्या समाधानका लागि पहल गर्ने बताए ।

प्रतिष्ठानका पदाधिकारी नियुक्त गर्दा कुनैपनि राजनीतिक दलका आसेपासेलाई नियुक्त गर्न नहुने आफूहरुले माग राख्ने बताए । प्रतिष्ठानको अनियमितताबारेमा निष्पक्ष छानविन गरि दोशीउपर कारबाही र निर्दाेशलाई सफाई दिन माग गर्ने बताए । त्यसका लागि आज शुक्तबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको बताए ।

प्रमुख राईको समूहले गृहमन्त्री, अर्थमन्त्री भेटेर समस्या राखिसकेको र सकारात्मक रहेको बताए । समूहमा नेकपा एकालेका नारायण सुवेदी, माओवादी केन्द्रका चोत्लुङ, जनता समाजवादीका ताजुव लिम्बू, नागरिक दवाव सञ्जालका  कमल तिगेला, पत्रकार हर्ष सुब्बा, भवानी बराल, उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गिरीधारी सापकोटालगायत रहेका छन्