विराटनगर / प्रदेश नं १ को प्रदेशसभाको आजको बैठकले ‘प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८’ विचार गरियोस् भत्रे प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बोले सो प्रस्ताव सदनमा पेस गरेका छन् ।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरु जयराम यादव, झलकबहादुर मगर र शिवनारायण गनगाईंले विधेयक अत्यन्त महत्वपूर्ण रहेको र यसले आर्थिक गतिविधि, पारदर्शिता र जवाफदेहिता बढाउने विश्वास व्यक्त गरेका छन् । 

विधेयकले राजस्व र व्ययको उचित व्यवस्था गर्ने, वित्तीय प्रतिफल हासिल गर्न मद्दत गर्ने र बजेटको आर्थिक गतिविधिलाई चुस्त एवं दुरुस्त बनाउ सहयोग गर्ने उनीहरुको भनाइ थियो ।

सैद्धान्तिक छलफलमा उठेका विषयको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले विधेयकमा प्राप्त सुझावलाई आत्मसात् गर्ने बताए । 

उनले यो विधेयकले वित्तीय उत्तरादायित्व र जवाफदेहिता बढाउने र आर्थिक गतिविधिलाई पारदर्शी बनाउने बताए । योजना बनाउने र त्यसको आद्यावधिक नगर्ने परिपाटीलाई विधेयकले निस्तेज पार्ने भन्दै मन्त्री आङ्बोले यसलाई कार्यान्वयन गर्न निर्देशिका र कार्यविधि बनाउने स्पष्ट पारे ।

सभाको शून्य समय र विशेष समयमा उठेका प्रश्नहरुको जवाफमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले चुरे संरक्षण गर्न प्रदेश सरकार सचेत छ भने । उनले प्रकृति, वातावरण र पर्यावरण संरक्षण गर्न सरकार प्रतिबद्ध छ भन्दै ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न सरकारले मापदण्डअनुसार नै गर्नेमा जोड दिए ।

विशेष समय

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले हदबन्दीमा परेका गिरी बन्धु टिस्टेटको जग्गा बिक्री गर्न सरकारले फुकुवा गरेकामा आपत्ति जनाए । सरकारले एकीकृत बस्ती विकासमा ध्यान दिनुपर्ने भन्दै सुकुम्बासीलाई पुर्जा वितरण गरे पनि जग्गा नपाएकोप्रति आक्रोश व्यक्त गरे । उनले कोभिड उपचारका लागि सरकारले बनाएको कोभिड अस्पताल किन बन्द छ भनी प्रश्न गरे ।

शून्य समय

प्रदेशसभा सदस्य खिनुलाम्बा लिम्बूले प्रदेशको जनसङ्ख्याका आधारमा सरकारले खोपको व्यवस्था गर्नुपर्ने माग गरे । अर्का सदस्य सुनिताकुमार चौधरीले मोबाइल फोनमा विभिन्न प्रकारका गेमहरुका सट्टा रोजगारी सिर्जना गर्ने र सीप सिक्न सक्ने कार्यक्रम राख्न सुझाव दिए । प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने छ ।