विराटनगर। १४ जिल्ला रहेको प्रदेश १ मा आत्महत्याको घटना प्रत्येक वर्ष बढ्दो क्रममा रहेको छ ।
१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार पुरुषभन्दा तेब्बर बढी महिलाले आत्महत्या गर्ने गरेका छन् ।
घरेलु हिंसा र प्रेममा असफलताका कारण महिलाले आत्महत्या गर्ने प्रवृत्ति बढ्दो छ । पुरुषहरूमा बेरोजगारी, नैराश्य, साइबर बुलिङका कारण प्रेमसम्बन्धहरू सार्वजनिक हुनेलगायतका कारण आत्महत्याको प्रवृत्ति रहेको प्रहरीले जनाएको छ । यस्तै डिप्रेसन, कडा खाले मनोरोग र अन्य कारणले पनि आत्महत्या हुने गरेको छ ।
प्रहरीको अभिलेखअनुसार १५ वर्षदेखि ४४ वर्ष उमेर समूहका व्यक्तिमा सबैभन्दा बढी ४५ प्रतिशत आत्महत्याका घटना हुने गरेको छ ।
प्रदेश १ मा मात्र गतवर्ष आ.व.२०७७/०७८ मा १ हजार ५ सय १६ जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी झापामा ८ सय ५१ जना र मोरङमा ८ सय २ जनाले आत्महत्या गरेका छन् । यसमध्ये सबैभन्दा बढी विष सेवन गरेर, त्यसपछि झुण्डिएर आत्महत्या हुने गरेको प्रहरीको अभिलेखमा उल्लेख छ ।
प्रहरीको तीन वर्षको तथ्याङ्कमा प्रत्येक वर्ष आत्महत्याको दर बढिरहेको छ । गएको आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश १ मा १ हजार २ सय ३४ जनाले आत्महत्या गरेका थिए । त्यसै गरी आर्थिक वर्ष २०७६/०७७ मा १ हजार ३ सय ४४ जनाले आत्महत्या गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यो क्रम हरेक वर्ष बढ्ने क्रममा रहेको छ ।
बढ्दो आत्महत्या रोकथामका लागि नीति तथा कार्यक्रम प्रदेश सरकारसँग छैन । जसले समाजमा अवस्था झन् भयावह बन्दैछ । पछिल्लो समय महिला तथा बालबालिकामा बढ्दो आत्महत्याको दरले सबैलाई चिन्तित तुल्याएको छ ।
राष्ट्रिय मानवअधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौलाले बालबालिका तथा महिलाको समेत बढ्दो आत्महत्याको दरले उनीहरू किन यसतर्फ प्रेरित भइरहेका छन् भन्ने कारण खोज्नुपर्ने बताउँछिन् । ‘व्यक्तिको जीवन नै क्षति एकातिर छ भने अर्कोतर्फ एक व्यक्तिमा परिवार, अभिभावक र राष्ट्रकै थुप्रैखाले लगानी हुन्छ । अनाहकमा वा आवेशमा आएर कसैले आफ्नै ज्यान लिन्छ भने त्यसले उसको परिवार, समाज र राष्ट्रलाई पनि प्रत्यक्ष घाटा भइरहेको हुन्छ’ उनले भनिन्, ‘त्यसकारण पनि बर्सेनि यस्ता घटना किन बढ्दै छन् भन्ने विषयमा समाजशास्त्रीय दृष्टिकोणले अध्ययन गरी यस्ता घटना न्यूनीकरणको प्रयास थालिनु आवश्यक छ ।’
मनोचिकित्सक डा. प्रभात चौरसिया आत्महत्यालाई मेडिकल इमरजेन्सीको अवस्था हो भन्दै खुलेर सोधखोज र प्रश्न गर्ने बानीको विकास गर्नुपर्ने उपाय सुझाउँछन् । सबै वर्ग, तह, समुदाय, लिङ्ग र उमेर समूहका मानिसहरूले आत्महत्या गर्ने क्रम बढ्दो पाइएकोले सबै सरोकारवाला मिलेर रोकथामका लागि सामूहिक पहल थाल्नुपर्ने उनको सुझाव छ ।
डा. चौरसियाका अनुसार आत्महत्या रोकथामका लागि पहिले अवस्था विश्लेषण गरेर गलत धारणा हटाउन सरोकारवालाबीच सहकार्य हुनुपर्ने र आवश्यक दक्ष जनशक्ति उत्पादनमा लगानी गर्नुपर्छ । ‘मानसिक स्वास्थ्य क्षेत्र अझै पनि उपेक्षामा छ’ उनी भन्छन्, ‘दक्ष जनशक्ति, आवश्यक पूर्वाधार र अध्ययन अनुसन्धान तथा जागरणका लागि राज्यले चासो दिएकै छैन ।’ मान्छेले मृत्युवरणको बाटो रोज्ने कुरालाई रोकथामका लागि सबै तह संवेदनशील बन्न आवश्यक रहेकोमा उनले जोड दिए ।