राष्ट्रिय जनमुक्ति पार्टी धनकुटाका पूर्व जिल्ला अध्यक्ष एवं नेपालको जातीय मूक्ति आन्दोलनका अथक योद्धा हरिभक्त वान्तावा राईको बिहीबार आफ्नै निवासमा निधन भएको छ । 

धनकुटा नगरपालिका वडा नं.७ यलम्बर चोकमा परिवारसँग बस्दै आएका राईको आफ्नै निवासमा ८१ वर्षको उमेरमा निधन भएको हो । पूर्व अध्यक्ष वान्तावा लामो समयदेखि नसा सम्बन्धि रोगले थलिएका थिए । अध्यक्ष राईको पार्थिव शरिरमा राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् सदस्य विष्णु थाम्देन, संघीय परिषद् सदस्य एवं पार्टीका धनकुटा जिल्ला इञ्चार्ज लोक आङ्गला, पार्टी जिल्ला अध्यक्ष सविला मोक्तान, उपाध्यक्ष नरबहादुर माङयक, पार्टीका युवा नेता गजम घिसिङ तामाङलगायतले संयुक्त रुपमा पार्टीको झण्डा ओढाएका थिए । 

धनकुटाको मुलघाटस्थित तमोर नदीको किनारमा स्वर्गीय राईको आत्माको चीरशान्तिको लागि पार्टीको तर्फबाट श्रद्धाञ्जली सभाको आयोजना गरिएको पार्टीका धनकुटा जिल्ला अध्यक्ष सविला मोक्तानले बताइन् ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै पार्टीका संघीय परिषद सदस्य थाम्देनले नेपालको एकात्मक राज्यसत्ताले गरेको विभेद, अन्याय, अत्याचार, दमन र न्याय समनताका लागि राईले गरेको योगदानको चर्चा गरे । सो अवसरमा थाम्देनले राष्ट्रिय जनमुक्ति पार्टीले एक निष्ठावान होनाहार योद्धा, पार्टीको अभिभावक, पथप्रदर्शक गुमाउनु परेको बताए । 

सो अवसरमा स्वर्गीय राईको पार्थिव शरीरमा किरात राई यायोखाका केन्द्रीय सदस्य अस्मिका राई, जिल्ला अध्यक्ष नरेन्द्र राई, यायोक्खा धनकुटाका सल्लाहकार टकलाल राईले किरात राई यायोक्खाको झण्डा ओढाए । 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष सञ्जय सन्तोषी राईले पनि महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका पूर्व अध्यक्ष एवं धनकुटा नगर प्रमुख चिन्तन थिङ तामाङ, प्रदेश नं.१ प्रदेश सभा सदस्य निरन राईले श्रद्धाञ्जली अर्पण गरे । 

आदिवासी जनजाति महासंघ धनकुटाका संस्थापक संयोजक एवं एमाले नेता दुर्गा लिंखा, एकल जातीय संस्थाका प्रमुख एवं प्रतिनिधि, सामाजिक संघ संस्थाका अगुवा, विभिन्न जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिले पनि स्वर्गीय राईको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरे । 

स्वर्गीय राई ०६४ देखि ०६७ सालसम्म राष्ट्रिय जनमूक्ति पार्टी धनकुटाको पाँचौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी वि.सं.२०६७ देखि ०७३ सालसम्म छैटौं जिल्ला अधिवेशनबाट पनि पुनः धनकुटा जिल्लाको राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष पदमा निर्वाचित भएर धर्म निरपेक्षता र संघीय गणतन्त्र नेपाललाई संस्थागत गर्ने महान अभियानमा देश र जनताको मूक्तिको खातिर दिलोज्यान दिएर लागेका थिए । 

उनले नेपालमा एकात्मक केन्द्रिकृत राज्यसत्ताले नेपाली जनतामाथि भाषिक, सांस्कृतिक हिसाबले विभेद गरेको छ, उत्पीडन गरेको छ, अन्याय, अत्याचार र दमन गरेको छ भनेर राज्यसत्ताको उत्पीडनको विरुद्ध जीवनभर संघर्षरत थिए । 

उनले नेपालमा जातीय उत्पिडन, जातीय विभेद र छुवाछूतको अन्त्य हुनु पर्छ भनेर न्याय र समनताका लागि लड्दै अघि बढ्ने क्रममा २०४६ सालको जनआन्दोलन पछि एकात्मक केन्द्रिकृत पञ्चायती व्यवस्थाको अन्त्यसँगै राष्ट्रिय जनमूक्ति पार्टीमा प्रवेश गरेर योगदान गरेका थिए । 

नेपालमा बहुदलीय व्यवस्थाको स्थापना भएपछि स्व. राईले नेपालमा पहिचान, संघीयता, स्वशासन, जातीय स्वायत्तता, र लोकतान्त्रिक गणतन्त्रको शङ्खघोष गर्ने पहिलो राजनीतिक पार्टी राष्ट्रिय जनमूक्ति पार्टीमा लागेर देश र जनताको लागि लडेका थिए । उनी वि.सं. २०५२ देखि ०५५ सालसम्म किरात राई यायोखा धनकुटाको अध्यक्ष भए । ०५१  देखि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् धनकुटाको कोषाध्यक्ष र सदस्य भएर २ पटक जिम्मेवारी सम्हालेका थिए । 

बुवा चन्द्रमान राई र आमा विष्णुमाया राईको कोखबाट वि.सं. १९९७ साल माघ २९ गते भोजपुर जिल्लाको साविकको दाँवा तमना गुप्तेश्वर गाविसमा जन्मिए राईको १ छोरा, ५ छोरी रहेका छन् । 

जेठी श्रीमती चन्द्रकुमारी राईको पहिले नै निधन भएको थियो भने कान्छी श्रीमती शान्ता राई भने पछिल्लो समय उनको साथमा थिएनन् । उनी वि.सं. २०३४ सालमा भोजपुर जिल्लाबाट आफ्नो भाग्य र भविष्य खोज्ने क्रममा धनकुटा आएका थिए । 

यसै क्रममा दुई वर्षपछि वि.सं.२०३६ सालमा सम्पूर्ण परिवार भोजपुरबाट बसाइँ सरेर धनकुटा नगरपालिका वडा नं.७ हुलाक टोलमा आएर ‘चित्रे खाजा’ सञ्चालनमा ल्याएका थिए । पछि जीवनलाई अघि बढाउने क्रममा धनकुटा ७ को यलम्बर चोकमा परिवारसहित बसोबास गरिरहने क्रममा ८१ वर्षको उमेरमा उनको असामयिक निधन भएको हो ।

विश्रान्ति घाटमा आयोजना गरिएको श्रद्धाञ्जली सभाको सञ्चालन राष्ट्रिय जनमूक्ति पार्टी धनकुटाका जिल्ला अध्यक्ष सविला मोक्तानले गरेकी थिइन् ।