इनरुवा। भूमि समस्या समाधान आयोग खारेजीको विरुद्धमा एमाले सम्वद्ध अखिल नेपाल किसान महासंघले सुनसरीमा आन्दोलनको चेतावनी दिएको छ ।

आयोग खारेजीको निर्णय फिर्ता हुनु पर्ने माग गरेको महासंघले त्यसो नगरिए आन्दोलन चर्काउन बाध्य हुने जनाएको छ ।  उसले प्रजिअ मार्फत प्रधानमंत्री कार्यालयलाई ज्ञापन पत्र पठाउँदै आयोग खारेजीको निर्णय अविलम्ब फिर्ता लिइनु पर्ने माग राखेको छ ।

नाराबाजी सहित प्रशासन कार्यालय पुगेको टोलीले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल समक्ष ज्ञापन पत्र बुझाउँदै आफ्ना मागहरु बारेमा जानकारी गराएको हो ।

महासंघको ज्ञापन पत्रमा आयोग खारेजीको निर्णयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासका कारण जोखिमयुक्त जीवन बिताउन बाध्य समुदायमाथि अन्याय भएको उल्लेख छ ।

संविधानले प्रदत्त गरेको अधिकार बमोजिम गठित आयोग वर्तमान सरकारले राजनैतिक प्रतिसोध साँध्ने नियतले खारेज गरेको महासंघको ठहर छ । ज्ञापन पत्र बुझाउन विघठित आयोगका पदाधिकारीसहित एमाले नेता तथा कार्यकर्ताहरु जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेका थिए ।