धरान/ प्रदेश १ को प्रदेशसभाको बैठक आउँदो बिहीबारका लागि आह्वान गरिएको छ । आगामी बैठकमा प्रदेशको नामाकरणको विषय प्रवेश गर्ने अपेक्षा गरिएको छ ।
प्रदेश सरकारले चालु अधिवेशनबाट प्रदेशको नामाकरण टुङ्ग्याउने तयारी थालेको छ ।
मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामाकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।
विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरकारसँग समय माग गरेका थिए ।
मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट प्रदेशको नामाकरणको विषय टुङ्ग्याउने पक्षमा आफू रहेको बताउँदै आएका छन् ।
गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते दिनको १ बजेको लागि प्रदेशसभा बैठक बस्ने आइतबार जानकारी गराएका हुन् ।
प्रदेशको नामाकरण चाँडै गर्न नसकेको विषयमा मुख्यमन्त्री शेरधन राई आलोचित हुँदै आएका छन् । प्रदेश १ को नामाकरणका सन्दर्भमा विभिन्न नामहरु अगाडि आएका छन् । केही प्रदेश सभा सांसद्ले खुलेरै सार्वजनिक कार्यक्रममा प्रदेशको नाम प्रस्ताव गरेका छन् । सतहमा भने कोशी प्रदेश, किरात प्रदेश, सगरमाथा प्रदेशलगायतका नाम अघि आएका छन् ।